साउदी अरबको जेद्दामा गोलीबारी, एक नेपालीसहित दुई जनाको मृत्यु !
काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको ज्यान गएको छ । बुधबार अज्ञात व्यक्तिको गोलीबारीका कारण भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेका हुन ।
अलजजिराका अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । गोलीबारीमा परेर बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरा समाचारमा उल्लेख गरिएको छ । मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना अहिलेसम्म खुलेको छैन । साउदी प्रेस एजेन्सी (एसपीए) ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जानकारि दिएको छ । यो गोलीबारीको घटनामा अमेरिकी नागरिकलाई भने केही नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीहरु साउदी अरबका अधिकारीहरुसँग सम्पर्कमा रहेको र घटनाको अनुसन्धान गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जानकारि दिएको छ ।
जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास सन् २०१६ मा पनि आक्रमणकारीको निशानामा परेको थियो । अमेरिकी दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराउँदा आत्मघाती आक्रमणकारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए ।
तपाईको प्रतिक्रिया