Friday, 20 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविमानस्थलमा १४ किलो सुन बरामद प्रकरण : ६ सदस्यीय छानविन समिति गठन !

विमानस्थलमा १४ किलो सुन बरामद प्रकरण : ६ सदस्यीय छानविन समिति गठन !

प्रहरीले आज पनि बरामद गर्यो २ किलो अबैद्य सुन


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । विमानस्थल भन्सारले भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा सदस्य रहेको छानविन समिति गठन गरेको हो ।
विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डेले पक्राउ पर्नेहरुको प्रारम्भिक बयानमा सुन नै हो भन्ने एकिन गरेर थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको जानकारि दिनुभयो । अबैद्य सुन आउँदैछ भन्ने गोप्य सूचना पछ्याएर सुनसहित भरिया पक्राउ गर्न सफल भएको र यसका लगानीकर्ताको खोजी भैरहेको पाण्डेले बताउनुभयो । बिहीबार राति दुबईबाट आएका गोरखाका चन्द्र घले करिव १४ किलो सुनसहित पक्राउ परेका थिए । घलेसँगै सुन तस्करीमा मुछिएका गोरखाका मीनबहादुर घलेलाई समेत प्रहरी पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन परीक्षणका लागि भन्सार विभाग पठाएर आवश्यक छानविन अघि बढाइएको छ ।

यता, आज बिहिन मात्रै पनि उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै गरिएको सुन विशेष सूचनाका आधारमा खटिएको टोलीले बरामद गरेको र तीन जना नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारि दिए । प्रहरीले पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरेको छैन । अपराध अनुसन्धान कार्यालयले नै दुई दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन बरामद गरेको थियो ।

यी सबै सुन प्रकरणमाथी अहिले अनुसन्धान भैरहेको छ । केही महिना अघि मात्रै विमानस्थलको भन्सार पास भएर बाहिरिदैगरेको ६० किलो बढी सुनसहित दर्जनौँ अभियुक्तलाई पक्राउ गरेर अहिले अदालती कारबाही प्रक्रिया चलिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ