अस्ट्रेलियामा प्रोटेक्सन भिजा आवेदन दिने नेपालीको संख्या बढ्दै

अस्ट्रेलियामा शरण माग्दै प्रोटेक्सन भिजा आवेदन दिने नेपालीको संख्या पछिल्ला तीन वर्षमा १ हजार १७३ जना पुगेको छ।
डिपार्टमेन्ट अफ होम अफेयर्सको तथ्यांकअनुसार आर्थिक वर्ष २०२३/२४ मा १६४ नेपालीले प्रोटेक्सन भिजा आवेदन दिएका थिए। आर्थिक वर्ष २०२४/२५ मा यो संख्या बढेर ४०५ र २०२५/२६ मा ६०४ पुगेको छ।
आर्थिक वर्ष २०२३/२४ को तुलनामा २०२५/२६ मा आवेदन संख्या २६८ प्रतिशतले बढेको हो।
अस्ट्रेलियामा रहेर आफ्नो देश फर्किँदा जात, धर्म, समुदाय, राजनीतिक विचार वा अन्य आधारमा जोखिम हुने दाबी गर्ने व्यक्तिले प्रोटेक्सन भिजाका लागि आवेदन दिन सक्छन्।
तर आवेदनको तुलनामा भिजा स्वीकृत हुने संख्या निकै कम छ। पछिल्ला तीन वर्षमा मुस्किलले २०-२५ जना नेपालीले मात्रै प्रोटेक्सन भिजा पाएको तथ्यांकले देखाउँछ।
जानकारहरूका अनुसार अस्ट्रेलिया अध्ययनलगायत विभिन्न भिजामा आएपछि अन्य भिजाका विकल्प सकिएका कारण केहीले लामो समय बस्नका लागि प्रोटेक्सन भिजा आवेदन दिने गरेका छन्।
यद्यपि अस्ट्रेलियामा हिंसा वा दुर्व्यवहारमा परेका र नेपाल फर्किँदा वास्तविक जोखिममा रहेका नेपालीले प्रमाणसहित आवेदन दिएर प्रोटेक्सन भिजा पाएका उदाहरण पनि छन्।
सरकारले भने झुटा विवरण वा गलत दाबी गरेर प्रोटेक्सन भिजा आवेदन नदिन चेतावनी दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






