Thursday, 11 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा सत्ताको खेल : ओली-देउवा मिलनले प्रचण्ड-रविमा छट्पटी !

नेपालमा सत्ताको खेल : ओली-देउवा मिलनले प्रचण्ड-रविमा छट्पटी !


काठमाडौं । यतिबेला नेपालमा सत्ता समिकरण परिवर्तनको राजनीतिक खेल चलिरहेको छ । यो खेलको वास्तविक कोर्स असार २८ गते वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि सुरु हुन्छ । पहिलो र दोश्रो दल मिलेर सत्ता चलाउने लोकतान्त्रिक पद्धती रहेका मुलुकहरुमा बिरलै हुन्छ । जनतामा आशंका गरिएजस्तै सत्ता स्वार्थको गठजोड मात्रैमा एमाले अनि कांग्रेस लाग्नुहुन्न ।

पहिलो दल नेपाली कांग्रेस र दोश्रो दल नेकपा एमाले बिच भएको सत्ता भागबण्डासहित सहकार्यको सहमतिलाई अस्थिरता रोक्न, राष्ट्रिय हितहरूको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा पुरा गर्ने अभियान भनिदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको बताउनुभएको छ । यस्तै, एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकता, अन्योलता र अस्थिरतातिर गएको भन्ने भ्रम फैल्याउन खोजिएको तर्फ लक्षित गर्दै ओलीले प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउनेहरुको चलखेल रोक्न सहकार्य भएको प्रष्ट पार्नुभएको छ ।
यता, नेपाली कांग्रेसले प्रधानमन्त्री समेत रहनु्भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रबाट वाक्क भएर स्थायित्वसहित देशलाई विकासको गतिमा अघि बढाउन एमालेसँग सहकार्यको हात अघि बढाउनुपरेको बताएको छ । अस्थिरता निम्त्याउने निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गरेर दिर्घकालिन स्थायित्वका लागि एमाले, कांग्रेससहित राष्ट्रिय सहमतिको पहल भैरहेको दुई दलका नेताहरुको जिकिर छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखक राजनीतिलाई अस्थिर बनाएर पहिलो र दोश्रो दललाई उपयोग गर्दै सत्तामा टासिने छट्टु राजनीतिक प्रबृत्ति रोक्न कांग्रेस एमाले एक भएको दाबी गर्नुहुन्छ । एमाले र कांग्रेस बिचको सत्ता भागबण्डाको सहमति अस्थिर राजनीतिको दिर्घकालिन समाधान, सत्तामा चल्ने बार्गेनिङ, फोहोरी खेल रोकेर देशलाई समृत, नागरिकलाई खुसी, सुखी बनाउने अभियान भएको लेखकको जिकिर छ । एमाले अध्यक्ष ओलीसँगको सत्ता सहकार्य सोचेजस्तो सहज नहुने विषयमा समेत कांग्रेसभित्र बहस भैरहेको छ । विगतमा एमाले, माओवादी केन्द्र एक भएर नेकपा बन्दाको ओली शैलीले समेत कांग्रेसलाई झस्काएको छ । तै पनि सत्तामा फर्किनका निम्ति कांग्रेस जानीबुझि तयार बनेको छ ।

कांग्रेस नेता प्रदिप पौडेल राजनीतिको उत्तरार्धमा रहेका एमाले अध्यक्ष ओली अब प्रधानमन्त्री बन्दा एमालेको, एउटा गुटको नभई देश अनि जनताको प्रधानमन्त्री बन्नुपर्ने सुझाब दिन्छन् । पौडेलले अन्तिम परिक्षामा रहेका ओलीलाई कांग्रेससहितको दुईतिहाईको साथले जिम्मेबार बनाउने आशा गरिरहेका छन् । यता, नेकपा माओवादी केन्द्रले एमाले कांग्रेसको सत्ता सहकार्यमा पश्चगमन र भ्रष्टाचार नियन्त्रणको अभियानबाट डराएको आरोप लगाउँदैछ । प्रचण्डसँगै सत्ता साझेदारी गरिरहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादीले भ्रष्टाचारका फाईल खुल्दा अताल्लिएर आफू र नेता जोगाउन भएको स्वार्थको गठजोडको आरोप लगाइरहेको छ ।

हुन त, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवालाई नजिकबाट चिन्नेहरु नै पनि यी दुई दलबीच सत्ता स्वार्थकै सहमति प्रधान भएको विश्लेषण गर्छन । दुई दलले सत्ता निर्माणका निर्णायक बन्ने स्वार्थका कारण निर्वाचन प्रणाली परिस्कृत गर्नेगरि संविधान संशोधनमा हात हालेपनि जनताको हितमा, देशको समृद्धीको अभियानमा ओली–देउवा सत्ताले खासै उपलब्धि दिननसक्ने विश्लेषण हुन थालेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ