भोटेकोशी बाढीले त्रिशूलीका दुई मस्जिद र मदरसा पूर्ण रूपमा क्षतिग्रस्त

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको त्रिशूली बजारमा रहेका दुईवटा मस्जिद र एउटा मदरसा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बाढीका कारण मस्जिद तथा मदरसाका भवन, धार्मिक सामग्री र अन्य संरचनामा ठूलो क्षति पुगेको छ। क्षति भएपछि अहिले मुस्लिम समुदायलाई नमाज पढ्न र धार्मिक गतिविधि सञ्चालन गर्नसमेत समस्या भएको मदरसाका सञ्चालक मौलाना अब्दुल वहाब अलकासमीले बताए।
उनका अनुसार मदरसा इस्लामिया कुरानियामा बाढी आउनुअघि ५० जना विद्यार्थी होस्टलमा बस्दै आएका थिए। उनीहरूलाई बाढीको जोखिमबारे समयमै जानकारी पाएपछि उद्धार गरी सुरक्षित स्थानमा लगिएको र पछि परिवारको जिम्मा लगाइएको उनको भनाइ छ।
उनका अनुसार मदरसामा पाँच जना कर्मचारी कार्यरत थिए। विद्यार्थीहरूले त्यहाँ धार्मिक शिक्षासँगै हाइस्कुलको अध्ययनसमेत गर्दै आएका थिए।
अलकासमीका अनुसार हाल मस्जिद र मदरसा सञ्चालन गर्ने अवस्था छैन।
त्रिशूलीमा मुस्लिम समुदायको उपस्थिति लामो समयदेखि रहेको र हालको मस्जिद करिब ११ वर्षअघि निर्माण गरिएको उनले बताए।
बाढीले धार्मिक संरचनासँगै आसपासका मुस्लिम तथा अन्य समुदायका घरहरूमा समेत क्षति पुर्याएको छ। अब मस्जिद र मदरसा पुनर्निर्माणका लागि सुरक्षित स्थान खोजी गर्नुपर्ने अवस्था रहेको अलकासमीले बताए।
उनले सरकार तथा सर्वसाधारणसँग सुरक्षित स्थान उपलब्ध गराउन र मस्जिद तथा मदरसा पुनर्निर्माणमा सहयोग गर्न अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







