Sunday, 11 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्राकृतिक विपदमा १६७ जनाको मृत्यु, एकैदिन १२ जनाले ज्यान गुमाए !

प्राकृतिक विपदमा १६७ जनाको मृत्यु, एकैदिन १२ जनाले ज्यान गुमाए !


काठमाडौं । अविरल वर्षासँगै आएको बाढी,पहिरो लगायतका विपद्का विभिन्न घटनामा परेर अहिलेसम्म १६७ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि बुधबार दिउँसोसम्म बाढी, पहिरो लगायतका विपद्का घटनामा परेर १ सय ६७ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

प्रहरी तथ्यांक अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, बागमती प्रदेशमा ३० जना, कोशी प्रदेशमा २५ जना, सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ८ जना, मधेश प्रदेशमा ६ जना र काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ । यता, कर्णाली प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा ४४ जना, कोशी प्रदेशमा ३७ जना, बागमती प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा १३ जना, मधेश प्रदेशमा १० जना र काठमाडौं उपत्यकामा ११ जना गरेर जम्मा १ सय ९९ जना घाइते भएकाे प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिनुभयो । कोशी प्रदेशमा ४९ जना, काठमाडौं उपत्यकामा २८ जना, गण्डकी प्रदेशमा १४ जना, बागमती प्रदेशमा १२ जना, सुदूरपश्चिाम प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा २ जना गरेर जम्मा ११० जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ४ जना, कोशी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा प्रदेशमा १–१ जना गरेर ५० जना वेपत्ता भएकाको खोजी कार्य जारी रहेको छ ।

बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् भने २६८ वटा घर, १०० वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७६३ वटा पशु चौपायको मृत्यु भएको छ । यसै अवधिमा विपद्का घटनाबाट ४ हजार २७२ घर परिवार विस्थापित भएको प्रहरीले जानकारी गराएको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पहिरोमा परेर १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते तथा ४ जना बेपत्ता भएका छन् । बागलुङको बडिगाड गाउँपालिका १० आरुपाटा स्थित एक घर र गोठ पहिरोले बगाउँदा ३ महिनाको बालिका सहित ६ जनाको मृत्यु भएको छ, ३ बालक र एक बालिका बेपत्ता भएका छन् । बागलुङकै बडिगाड गाउँपालिका ९ दर्लिङ काभ्राखर्कमा घर नजिकै हिड्ने क्रममा माथिबाट आएको पहिरोमा परेर पुरिदाँ घटनास्थलमा नै मृत्यु भएको छ ।बडिगाउड गाउँपालिका ८ कै बलघाँस स्थित एक घर पहिरोले पुर्दा १५ वर्षका एक बालकको मृत्यु भएको छ । यता, गुल्मीको मुसिकोट नगरपालिका १ बिसौना स्थित २ घर पहिरोले पुरिदा ४ जनाको मृत्यु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ