अझै ५ दिन रवि थुनामै रहन, १० दिनमा मुद्धा अदालत लैजानुपर्ने बाध्यतामा प्रहरी !
काठमाडौं । प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथी सहकारी ठगी बारेको अनुसन्धान गर्न कास्की प्रहरीले थप ५ दिनको म्याद पाएको छ । बिहिबार भएको म्याद थप सम्वन्धी बहसपछि जिल्ला अदालत कास्कीका न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासले थप ५ दिन हिरासतमा राख्न अनुमती दिएको हो ।
पछिल्लोपटक थप गरिएको ४ दिनको म्याद सकिएपछि अदालत लगिएका लामिछानेसँगै पूर्व डीआइजी छविलाल जोशी तथा जीबी राईका साझेदार रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाइ अब थप ५ दिन हिरासतमै रहने भएका छन् । संगठित अपराधमा अनुसन्धान गर्दा प्रहरीले ९० दिनभित्र अदालतमा मुद्दा लैजानुपर्ने कानूनी प्रावधान रहेकाले अब रवि–छाविलाई मुद्दा दायर गर्नुपर्ने हदम्याद समेत नजिकिएको छ । एउटै मुद्दामा पक्राउ परेका व्यक्तिमध्ये सबैभन्दा पहिले असोज ६ मा पूर्व डीआईजी जोशी पक्राउ पर्नुभएको थियो । असोज ६ बाट गणना गर्दा बिहिबार ८० दिन पूरा भएको छ । कानुनी व्यवस्था अनुसार अब १० दिनभित्र प्रहरीले अदालतमा अनुसन्धान प्रतिवेदनसहति अभियोजन गर्नुपर्ने छ ।
प्रहरी प्रतिवेदनसहित मुद्दा दायर भएपछि अदालतले थुनछेक बहस गरेर रविलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिने, साधारण तारेखमा छोड्ने वा धरौटीमा छोड्ने निर्णय लिनेछ । रविसहित पूर्व डीआईजी जोशीलाई देशका विभिन्न ५ वटा सहकारी ठगीमाथी अनुसन्धान गरिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धान रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीसम्म पुगेको छ । यी ५ वटा सहकारीबाट गोरखा मिडियामा गैह्रकानुनी रुपमा बचतकर्ताको रकम हिनामिना भएको उजुरीमाथी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया