Sunday, 28 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal७ बुँदे सहमतिसँगै बालेन र रवि एकठाउँ, चुनावपछि प्रधानमन्त्री बन्लान त बालेन ? 

७ बुँदे सहमतिसँगै बालेन र रवि एकठाउँ, चुनावपछि प्रधानमन्त्री बन्लान त बालेन ? 


काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको छ ।

सहमति पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने, पार्टीको नाम, चुनाव चिन्ह र झण्डा राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने र पार्टीको सभापति रवि लामिछाने नै रहने उल्लेख छ । हस्ताक्षरपछि सार्वजनिक गरिएको सहमति पत्रमा नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

यस्तै नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने प्रतिबद्धता बालेन्द्र र रविले गर्नुभएको छ ।

बृहत् एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ । लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने सहमति समेत भएको छ ।

यो सहमतिसँगै चुनावपछि रास्वपा ठूलो, बहुमत ल्याउने पार्टी बन्ला? काठमाडौं महानगरका कुशल नेतृत्वमा दरिनुभएका बालेन देशकै प्रधानमन्त्री बन्नुहोला ? जताततै बहस भइरहेको छ ।

हस्ताक्षर कार्यक्रममा रास्वपा उपसभापति द्वय स्वर्णिम वाग्ले र डिपि अर्याल, वार्ता सफल बनाउन खटिनुभएका शिशिर खनाल, असिम शाह र बालेन शाह पक्षका कुमार बेन, के पी खनाल, निश्चल बस्नेत, भुपदेव शाह, सुदिप ढकाल लगायतको उपस्थिति रहेको फोटो सार्वजनिक भएको छ ।

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले एकताका नाममा आत्मसमर्पण नगर्ने अडान लिएका कारण रवि र बालेन बिच मात्रै सहमति भएको छ । (फोटो श्रोत: बालेन शाहको फेसबुक)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ