NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

२० वर्ष विदेश बसेर स्वदेश फर्किएका मदनकृष्ण अधिकारी

Nepaltube Australia

करिब २० वर्ष युरोपमा अध्ययन र रोजगारी गरेका इन्जिनियर मदनकृष्ण अधिकारी स्वदेश फर्किएर आफ्नै जन्मथलो तनहुँको डुम्रेमा व्यवसाय सञ्चालन गरिरहेका छन्।

स्विडेनमा अध्ययनपछि नर्वेमा करिब १५ वर्ष काम गरेका अधिकारी वृद्ध हुँदै गएका बुवाआमासँग समय बिताउने उद्देश्यले नेपाल फर्किएका हुन्।

उनले डुम्रे बजारमा आधुनिक सुविधासहितको केओएस कुबेर सप्लायर्स पेट्रोल पम्प सञ्चालन गरेका छन्। पेट्रोल पम्प परिसरमा रेस्टुरेन्ट, विद्युतीय सवारीसाधन चार्जिङ सुविधा र बालबालिकाका लागि खेल्ने ठाउँसमेत व्यवस्था गरिएको छ।

त्यसैगरी, उनले नजिकै कृषि फार्म पनि सञ्चालन गरेका छन्। फार्ममा बाख्रा, स्थानीय कुखुरा, गाईलगायतका पशुपन्छी पालनसँगै रासायनिक मल प्रयोग नगरी तरकारी उत्पादन गरिने उनको भनाइ छ।

नेपालमा व्यवसाय सञ्चालन गर्दा सरकारी प्रक्रिया र प्रशासनिक जटिलताका कारण केही चुनौती सामना गर्नुपरे पनि आफू सन्तुष्ट रहेको अधिकारी बताउँछन्।

‘सबैभन्दा ठूलो कुरा सन्तोष हो। म खुसी छु। अप्ठ्याराहरूको सामना गर्दै काम गरिरहेको छु,’ उनले भने।

काठमाडौं वा पोखरामा लगानी गर्दा छिटो प्रतिफल प्राप्त हुन सक्ने भए पनि जन्मथलोमै केही गर्ने इच्छाले डुम्रे रोजेको अधिकारीको भनाइ छ।

स्वदेश फर्किएको करिब सात वर्षमा पेट्रोल पम्प, रेस्टुरेन्ट र कृषि फार्म सञ्चालनमा ल्याएका अधिकारी चुनौतीका बीच पनि निरन्तर प्रयास गरे नेपालमै व्यवसाय गर्न सकिने बताउँछन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार