
एडिलेड/ सरल गुरुङ
साउथ अष्ट्रेलियाकी सांसद जिङ लिले कोरोना भाईरसको संक्रमण फैलन नदिन नमस्ते संस्कार उत्तम भएको बताएकी छिन् ।
पहिलो साधरणसभाका लागि साउथ अष्ट्रेलियाको एडिलेड पुगेका अष्ट्रेलियाका नेपाली पत्रकारलाई स्वागत गर्दै सांसद लिले नेपालीले हात जोडेर गर्ने नमस्ते संस्कारको चर्चा गरेकी थिईन् । पत्रकारलाई नमस्ते गर्दै संसद भवनमा स्वागत गरेकी सांसद तथा प्रिमियरकी सहायक मन्त्री लीले कोरोनाको संक्रमणबाट जोगिन हात मिलाउनुको साटो टाढैबाट गरिने नमस्ते उत्तम रहेको बताएकी हुन् ।
अष्ट्रेलियामा रहेका नेपालीले पनि नमस्ते संस्कार अरुलाई सिकाउन उनले आग्रह गरिन् । अष्ट्रेलियामा काेराेना भाईरसकाे संक्रमण बढेसंगै न्यु साउथ वेल्स सरकारले आफ्ना नागरिकलाई हात नमिलाउन र किस नगर्न निर्देशन दिएकाे छ ।
त्यस्तै सांसद लिले नेपालका महिलाहरुले पाएको राजनैतिक अधिकार उदाहरणिय रहेको समेत बताईन् । सन् २०१७ मा नेपाल भ्रमण समेत गरेकी लिले त्यहाँ आफुले आध्यात्मिक अनुभूति गरेको अनुभव समेत सुनाईन् ।
नेपाली पत्रकारलाई साउथ अष्ट्रेलियाको तल्लो र माथिल्लो सदनको भ्रमण गराउदै उनले संसदको ईतिहासको समेत व्याख्या गरेकी थिईन् ।
निकै हसिलो मुद्रामा प्रस्तुत भएकी लिले नेपालीहरु युवा आप्रवासी भएकाले अष्ट्रेलियाको शिक्षा, स्वास्थ्य र राजनैतिक क्षेत्रमा धेरै काम गर्न सक्ने समेत बताईन् ।
