नारी दिवस -नेपालीले चढे एडिलेडको माउण्ट लफ्टी

सरल गुरुङ/एडिलेड
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा एडिलेडका नेपालीले माउण्ट लफ्टी पहाड चढेका छन् । महिला शसक्तिकरण र समान सहभागीका लागि भन्दै साउथ अष्ट्रेलियाका नारी निकुञ्जले हाईकिङको आयोजना गरेको हो ।
हाईकिङमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, साउथ अष्ट्रेलियाका महावाणिज्यदूत दिपक धमला तथा भिक्टोरिया महावाणिज्यदूत चन्द्र योञ्जन सहभागी थिए । त्यस्तै एनआरएनए आईसिसिका उपाध्यक्ष मन केसी, एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल, पत्रकार, स्थानिय समाजसेवी, व्यवसायी र नारीहरु गरि झण्डै एक सय जना सहभागी थिए ।
सहभागीहरु झण्डै ४ किलोमिटरको उकालो चढेर पहाडको टुप्पामा पुगेका थिए । सात सय २७ मिटरको पहाडको टुप्पामा महिला दिवसको कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा राजदूत दाहालले महिलालाई सम्मान गर्नेहरु नै सफल हुने भन्दै महिलालाई सधै अग्रस्थानमा राख्नुपर्ने बताए ।
त्यस्तै महावाणिज्यदूत चन्द्र योञ्जनले नारीको सम्मान घरभित्रबाट सुरु गर्न सुझाव दिए ।
एनआरएनए आईसिसी उपाध्य मन केसीले एनआरएनमा महिलाहरु नेतृत्वमा पुग्ने क्रम सुरु भएको भन्दै, अझ शसक्त भएर नेतृत्वमा आउन महिलालाई आग्रह गरे । त्यस्तै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले जन्म दिने शक्ति भएका महिलाहरु पुरुषभन्दा धेरै माथी रहेको बताए ।

कार्यक्रममा सहभागीलाई नारी निकुञ्ज साउथ अष्ट्रेलियाका संयोजक मञ्जु खड्काले धन्यवाद दिए ।

कार्यक्रममा भिक्टोरिया पत्रकार निरु त्रिपाठीले लेखेको उपन्यास पेरिसकानोको लोकार्पर्ण समेत गरिएको थियो ।
१५ डलर मुल्यको पुस्तक बिक्रीबाट ५ डलर नारी निकुञ्जलाई दिने घोषणा समेत भएको छ ।

सन् २०१० मा स्थापना भएको नारी निकुञ्ज अष्ट्रेलियाले अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर अष्ट्रेलियाभर कार्यक्रम गरिरहेको छ । शनिवार निकुञ्जको १० वर्षे स्थापना दिवस र नारी दिवसको विशेष कार्यक्रम हुदैछ ।
तस्बिरहरु – सरल गुरुङ
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
तपाईको प्रतिक्रिया