सरल गुरुङ/सिड्नी
अघिल्लाे शनिवार सिड्नीमा दुई मगर राजा चुनिएका छन् । ऐतिहासिक लिगलिगे दाैडमा विजयी भएका दुई युवा राजा छनाैट भएका हुन् ।
उनीहरुले साच्चैका राजा जसरी शासन भने गर्दैनन् ।
मगर समाज अष्ट्रेलियाले मागे संक्रान्तिकाे अवसरमा आयाेजना गरेकाे लिगलिगे दाैडमा प्रथम भएपछि परम्परा अनुसार समाजले उनीहरुलाई राजा घाेषणा गरेका हुन् ।
नेपाल एकिकरण पुर्व गण्डक क्षेत्रमा रहेकाे लिगलिग काेटमा दाैडिएर प्रथम हुने युवालाई राजा घाेषणा गरिन्थ्याे ।
“घले राजा चुनिएकाे सबैले सुनेका छन्” समाजका सचिव सुदर्शन थापाले भने – त्यस भेगमा मगरकाे पनि बाक्लाे बसाेबास भएकाे र मगर पनि राजा चुनिएकाे ईतिहास भेटिएकाले हामीले पनि लिगलिगे दाैड गरेका हाै ।
दाैडकाे ३५ वर्षभन्दा माथिको प्रतिष्पर्धामा तीर्थजार कार्कीले बाजी मारे भने ३५ वर्ष मुनिमा ललित थापा मगर राजा बने । उनीहरुलाइ समुदायले फेटा र नगदबाट सम्मान गरेका थिए ।
सय मिटर दाैडमा दुबै समुहमा २० जना भन्दा बढीकाे सहभगिता थियाे ।
मगरहरुकाे परम्परा अष्ट्रेलियामा पनि थामिराख्न सन् २०१० देखि नै माघे संक्रान्तिमा लिगलिगे दाैड आयाेजना गर्ने गरेकाे थापाकाे भनाई छ ।
माघे संक्रान्ति मेला सिड्नीकाे अलवुड पार्कमा भएकाे थियाे । झण्डै एक हजार जना सहभागी कार्यक्रममा मगरकाे संस्कृति झल्कने नाचगान र परिकार आकर्षणकाे केन्द्र बनेकाे थियाे ।
सन् २०१० मा गठन भएकाे मगर समाज अष्ट्रेलियाले यहाँ मगर संस्कृति जाेगाई राख्न महत्वपुर्ण भूमिका खेल्दै आएकाे छ ।
तपाईको प्रतिक्रिया