तीनदिने ‘विश्व शान्ति कार्यक्रम’ लुम्बिनीमा सुरु
लुम्बिनी, प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी – लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा बिहीबारदेखि तीनदिने ‘विश्व शान्ति कार्यक्रम’ सुरु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक मेयर कल्पना हरिजन र आयोजक द प्रमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

मेयर हरिजनले नगर क्षेत्रका १० सामुदायिक विद्यालयमा बुद्ध शिक्षा लागू गर्न पहल गरिने प्रतिबद्धता जनाउनुभयो । पहिलो दिनको कार्यक्रममा इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनसँगै सुधांसु दाहालले आध्यात्मिक रूपान्तरण, नेतृत्व, विश्व शान्तिबारेका सिकाइ तथा समुदाय सशक्तीकरणसम्बन्धी जानकारी गराउनुभएको छ । जीवन विज्ञान प्रतिष्ठानका एलपी भानु शर्माले नेपालमा १९ हजार वर्ष पुरानो आध्यात्मिक इतिहासबारे चर्चा गर्दै मेडिटेसनसम्बन्धी प्रस्तुति दिनुभएको छ ।
यस्तै, अभिनेता राजेश हमाल, ट्रेजर कार्बन ग्रुपकी सीईओ सुसन झुले ‘किनोट स्पिच’ दिदै नेपालीहरूमा निराशा भए पनि हाँसेर बोल्ने ठूलो सम्पत्ति भएको उल्लेख गर्नुभएको छ । शनिबारसम्म हुने कार्यक्रममा विभिन्न देशका २५ अर्बपतिहरुको सहभागीता रहेको छ । नेपाल तथा विदेशका नेता, विद्वान्, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएका व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरू ‘विश्व शान्ति कार्यक्रम’ मा सहभागी हुनुहुन्छ ।
तीन दिनसम्म चल्ने कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय लगायतका विषयमा बहस हुनेछ। स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजलाई पनि कार्यक्रममा समेटिने, सांस्कृतिक प्रदर्शनी, संगीत र कलात्मक अभिव्यक्तिका सत्रहरु रहने बताइएको छ ।
















तपाईको प्रतिक्रिया