NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

नेपाली विद्यार्थीलाई स्वागत गर्न अष्ट्रेलिया उत्साहित : राजदूत फेलिसिटी

Nepaltube Australia

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी   भल्कले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा स्वागत गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ । मङ्गलबार काठमाडौमा भएको प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०२२ को उद्घाटनपछि राजदूत भल्कले कोरोनाका कारण बन्द बोर्डर खुला भएपछि पूर्ण रुपमा कोरोना खोप लिएका विद्यार्थीलाई अध्ययनका लागि अष्ट्रेलिया डिसेम्बरदेखि खुला भएको जानकारी दिनुभयो ।

धेरै चुनौतिका बाबजुद अहिलेको समयमा पूर्ण खोप लगाएका र भिसा लिएका योग्य विद्यार्थीहरुलाई अष्ट्रेलियामा प्रवेश गराइदै आएको जानकारी दिंदै उहाँले नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन अष्ट्रेलिया प्रतिवद्घ रहेको समेत बताउनुभयो ।

नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलोसिटी भोल्क कार्यक्रमको उद्घाटन गर्दै

नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले जनवरी ४ तारिखमा काठमाडौंको  एभरेष्ट होटलमा शैक्षिक मेला आयोजना गरेको हो ।
शैक्षिक मेलामा अष्ट्रेलियामा विभिन्न विषयमा पढ्न चाहने विद्यार्थीहरुको लागि अस्ट्रेलियाको कलेज, विश्वविद्यालय, शैक्षिक ऋण र बीमा सेवा समेत गरी १५ वटा संस्थाहरुको सहभागी थिए । मेलामा सहभागी विद्यार्थीका भिषा र पिआर सम्बन्धि प्रश्नको उत्तर दिन अष्ट्रेलियाका अनुभवी रजिष्ट्रर्ड माईग्रेसन एजेण्ट नारायण कोईराला अनलाईनबाट जोडिनु भएको थियो । पर्दामा हेरेर भिडियो च्याटमा कोईरालासंग मनमा लागेका प्रश्न सोध्दै उत्तर पाउदा विद्यार्थीहरु खुसी देखिएका थिए ।

भिडियो च्याटबाट अष्ट्रेलियाका रजिष्ट्रर्ड माईग्रेसन एजेण्ट नारायण कोईरालासंग प्रश्न उत्तर गर्दै विद्यार्थीहरु

यस वर्षको अष्ट्रेलियन शैक्षिक मेलामा शैक्षिक ऋण प्रदायकको लागि एनएमबी बैंक, आइएलटीएसको लागि आइडीपी आइएलटीएस, शैक्षिक बीमाको लागि एल्लियान्ज पार्टनर्स संस्थाहरु समेत सहभागी थिए ।

छात्रबृत्ति, पोष्ट स्टडी वर्क (अध्ययन पछि काम) र रिजनल क्याम्पस (क्षेत्रीय क्याम्पस) का बारेमा पनि जानकारी दिइएको थियो । एक सय सहभागीहरूलाई नि:शुल्क आइएल्टीएस वा पीटीइ कक्षाहरू उपलब्ध गराइएको थियो भने र एक भाग्यशाली बिजेतालाई अष्ट्रेलियाको नि:शुल्क हवाई भाडा दिइने आयोजक पक्षले जनाएको छ । कार्यक्रममा सहभागीहरुलाई नेपाल टेलिकमको तर्फबाट सीमकार्ड पनि प्रदान गरिएको थियो ।

मेलामा सहभागीहरु

मेलामा विद्यार्थीले आफुले अष्ट्रेलियामा जान आवश्यक शैक्षिक परामर्श नि:शुल्क लिएका थिए । थुप्रै उपहारहरुका साथै छत्रबृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार