राजदूतको मापदण्ड र योग्यताबारे संसदीय समितिको चासो, को बन्ला त अष्ट्रेलियाको राजदूत ?
काठमाडौं । सरकारले अष्ट्रेलियासहित विदेशका २० नियोगमा रिक्त रहेका राजदूतको पदपूर्तीको गृहकार्यलाई तिब्रता दिइरहेको छ । सत्ता गठबन्धन दलबीच परराष्ट्र सेवाबाट ७ जनालाई र बाँकी १३ जना राजदूत राजनीतिक भागबण्डामा बनाउने सहमति जुटेपनि व्यक्ति बारेको टुंगो लागिसकेको छैन ।
अहिले चीन, कतार, मलेसिया, जापान, बंगलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिका, म्यानमार, दक्षिण कोरिया, ब्राजिल, इजिप्ट, साउदी अरेबिया, अस्ट्रेलिया, श्रीलंका, बहराइन, इजरायल, डेनमार्क, रुस र अस्ट्रियामा राजदूत खाली छन् । दलहरुको महाधिवेशन लगत्तै सिफारिसको टुंगो लाग्ने भनिएपनि अहिलेसम्म गृहकार्य जारी छ । विगतका दुई कार्यकाल माओवादी कोटाबाट राजदूत बनेको अष्ट्रेलिया एकिकृत माओवादीकै भागमा परेमा महेश दाहाल नै दोहोरिने सम्भावना प्रवल छ । बिवादमा तानिएकी पूर्व राजदूत लक्कि शेर्पाको दौडधुप पनि सुरु भएको छ । यदि एमाओवादी अध्यक्ष प्रचण्डलाई कसैले रिझाउन सकेमा नयाँ व्यक्ति समेत राजदूतका रुपमा आउन सक्नेछन् ।
राजदूत नियुक्तिमा संसदीय समितिको चासो
राजनीतिक दलको कोटाबाट नियुक्त हुने राजदूतको मापदण्ड र योग्यताबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विज्ञ र परराष्ट्रमन्त्रीसँग छलफल गर्ने भएको छ । समिति सभापति पवित्रा निरौला खरेलले विज्ञ, समिति र परराष्ट्र मन्त्रालयबीच छलफल गरेर मात्र राजदूत नियुक्ति टुंगोमा पुर्याउने तयारीमा लागेको जानकारि दिनुभएको हो । पेशागत राजदूत (करिअर डिप्लोम्याट) बाहेक राजनीतिक कोटाबाट नियुक्त हुने राजदूतबारे संसदीय समिति र विज्ञहरुमार्फत प्रश्न उठ्ने गरेको छ । संसदीय समितिका सदस्यहरुले समेत मापदण्डमा चासो राखेपछि समितिले छलफल गर्न लागेको बताइएको छ । अहिले २० नियोगमा राजदूत पद रिक्त छ भने परराष्ट्र सेवाबाट ७ जनालाई राजदूत बनाउने तयारीमा सरकार जुटेको छ ।
तपाईको प्रतिक्रिया