Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News३५ हजार सिलिण्डर नेपाल आइपुग्दै, केही दिनमै अक्सिजन अभाव टर्ने अपेक्षा

३५ हजार सिलिण्डर नेपाल आइपुग्दै, केही दिनमै अक्सिजन अभाव टर्ने अपेक्षा


काठमाडौं । नेपालमा नयाँ भेरियन्टसहितको कोरोना महामारीले तिब्रता पाएसँगै बिरामीहरुले अस्पतालहरुमा अक्सिजन अभाव झेल्नु परिरहेको छ । यो अभाव टार्न सरकारको व्यवस्थापन चुस्त नदेखिएपछि निजी क्षेत्रले सिलिन्डर खरिद गरेर सरकारलाई साथ दिइरहेका छन् । निजी क्षेत्रले ९ हजार ८ सय ५ अक्सिजन सिलिन्डर र ५ हजार अक्सिजन व्याग नेपाल ल्याइरहेका छन् ।

सरकारले चीनबाट २० हजार, निजी क्षेत्रले ९ हजार ८ सय ५० र विभिन्न देशमा बसोबास गरिरहेका नेपालीले करिब ५ हजार अक्सिजन सिलिन्डर ल्याएसँगै अबको केही समयमै ३५ हजार अक्सिजन सिलिन्डर नेपालमा थपिनेछन् । स्वास्थ्य मन्त्रालायका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयले चीनबाट १ हजार ३ सय अक्सिजन सिलिन्डर ल्याइसकेको र अब बाँकी रहेको १८ हजार ७ सय अक्सिजन सिलिन्डर पनि आउने क्रममा रहेको जानकारी दिनुभयो । पहिलो पटक ५ सय र दोस्रो ८ सय गरी १ हजार ३ सय अक्सिजन सिलिन्डर नेपाल आइसकेको छ भने चीनबाट बाँकी रहेको सिलिन्डर दैनिक रुपमा आइरहेको बताइएको छ ।

एभेरष्ट अक्सिजन उद्योगका सञ्चालक शिवप्रसाद घिमिरेले ७ हजार ५० वटा अक्सिजन सिलिन्डर चीनबाट नेपाल ल्याउँदै छन् । सँगै ५ हजार अक्सिजन व्याग पनि ल्याउँदै छन् । नेपालमा अक्सिजन व्याग प्रयोगमा अएको छैन । अक्सिजन प्रयोग गर्नुपर्ने बिरामीले अक्सिजन मास्कको माध्यमबाट आफूसँगसँगै लिएर जान सक्नेछन् । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपककुमार मल्होत्राले पनि चीनबाट २ हजार ८ सय अक्सिजन सिलिन्डर ल्याउँदै छन् ।

सरसरकार, निजी क्षेत्र र विभिन्न देशमा बसेका नेपालीले पठाएको समेत गरेर करिब ३५ हजार अक्सिजन सिलिन्डर नेपाल आइपुगेमा धेरै हदसम्म अक्सिजन अभाव टर्ने आँकलन गरिएको छ । अहिले ल्याइएको अक्सिजन सिलिण्डरको नेपाल आइपुग्दा प्रति सिलिन्डर १३ हजार मुल्य पर्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ