Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबालेन कदम : आजबाट काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा रोक

बालेन कदम : आजबाट काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा रोक


काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको हो ।

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको जानकारी दिनुभयो । बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने निर्णय लिएको महानगरले कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत जफत गरी कारबाही गरिने पौडेलले बताउनुभयो ।

यो कदमलाई महानगरले स्वास्थ्य सहर निर्माणको अभियान भनेको छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको पौडेल बताउनुहुन्छ । रोग लागिसकेपछि लाखौँ रुपैयाँ खर्च गर्नुको साटो रोगै लाग्न नदिनु उत्तम भएकाले यो कदम चालिएको महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले यो अभियानमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ । महानगरले ल्याएको यो नियम राम्रो भन्दै धेरैले प्रशंसा गरे पनि कार्यान्वयनमा भने महानगर र मेयर बालेन शाह, उपमेयर सुनिता डंगोलसहित सिंगो टिमले चुनौती झेल्नुपर्ने छ । महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट सुर्ती खान रोक लगाएको भएपनि यो नियम अहिलेसम्म कार्यान्वयन भएको छैन ।

महानगरले सार्वजनिक ठाउँ, मठमन्दिर, पार्टीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्ध आश्रम, पसल, पार्क लगायतका क्षेत्रमा चुरोट नखान आग्रह गर्दै नियमको अटेर गर्नेलाई कारबाही हुने चेतावनी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ