तमु समाज सिड्नीले पायो नयाँ टिम । इतिहास रच्ने अवसर

सिड्नी
अष्ट्रेलियाको सबैभन्दा पुरानो समाजिक संस्था तमु समाज सिड्नीको नयाँ कार्यसमिति दिनेश गुरुङको नेतृत्वमा गठन भएको छ ।
समाजको गत शनिवार बसेको साधारण सभाले पुर्व उपाध्यक्ष समेत रहेका गुरुङलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
२५ सदस्यीय कार्यसमितिको दुइ उपाध्यक्षमा भोज गुरुङ र जीवन गुरुङ चुनिनु भएको छ । त्यस्तै महासचिवमा अर्जुन गुरुङ छानिनु भएको छ भने सचिवको जिम्मेवारी हेउपति गुरुङले पाउनु भएको छ । कोषाध्यक्षमा डा.समिता गुरुङ चुनिएका छन् भने सांस्कृतिक संयोजकमा भिमसम्सेर गुरुङ र महिला संयोजकमा शीला गुरुङ दोहोरिका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष टंक गुरुङले खादा लगाएर स्वागत तथा शुभकामना दिएका थिए ।
तमु समाज सिड्नीको अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएपछि नेपाल ट्युबसंग कुरा गर्दै दिनेश गुरुङले अग्रज र नयाँ दुबै तप्काका गुरुङहरुलाई एउटै शुत्रमा बाधेर अघि बढाउने बाचा गर्नु भयो । ‘यत्रो पुरानो र गर्विलो इतिहास बोकेको संस्थाको जिम्मेवारी आफ्नो काँधमा आउदा खुसी नलाग्ने कुरै भएन’- अध्यक्ष गुरुङले भने -‘यो जिम्मेवारीलाई पुरा गर्न दिनरात एक गरी काम गर्नेछु ।’
चुनौति र अवसर
सन् १९९६ मा गठन भएको तमु समाज सिड्नी अष्ट्रेलियाको सबैभन्दा पुरानो संस्था मध्येको एक हो । न्यु साउथ वेल्स राज्यमा मात्रै हाल ९६ वटा सामाजिक संघसंस्था दर्ता भएको तथ्याकं छ । यत्ति धेरै सामाजिक संस्थाको भीडमा तमु समाजलाई शसक्त उभ्याउनु यो कार्यसमितिको सबैभन्दा ठुलो चुनौती हुनेछ ।
तमु समाज सिड्नीले सामुदायिक भवन निर्माण गर्ने छलफल चलाएको वर्षौ भइसकेको छ । यसअघिको कार्यसमितिले यसलाई मुर्तरुप दिन नखोजेको पनि होइन । तर, केही समाजका अगुवाहरुलाई साथमा लिन नसक्दा भवन निर्माणको काम रोकिएको छ । ‘पब्लिक सेयरका’ रुपमा भवन बनाउने कि ‘च्यारिटी’ गरेर भन्ने विषयमा एकरुपता नआउदा समस्या आएको हो ।
सिड्नीका गुरुङले ‘अरुलाई सम्मान हाम्राे पहिचान’ भन्दै ल्हाेछार मनाउँदै ।
तपाईको प्रतिक्रिया