Thursday, 17 October 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News१८ महिनामा ढल्यो प्रचण्ड सरकार, अब को प्रधानमन्त्री ?

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, अब को प्रधानमन्त्री ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभामा विश्वासको मत गुमाउँदै पदमुक्त हुनुभएको छ । शुक्रबारको प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत पर्दा विपक्षमा १ सय ९४ मत र मत दिन्न भन्नेमा १ मत परेको हो ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत लिनुभएको थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । अब दुई तिहाई बहुमतको हस्तक्षर र दलीय समर्थनसहित एमाले–कांग्रेस गठबन्धनको तर्फबाट प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष ओलीले शितल निवासमा दाबी प्रस्तुत गर्नुहुनेछ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बन्नुभएका प्रचण्ड पदमुक्त भएपछि ओली नेतृत्वमा धारा ७६ को उपधारा २ अनुसार नै सरकार बन्छ वा उपधारा ३ मा जान्छ भन्ने बहस सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल यही बिषयमा कानुनविद्सँग परामर्शमा जुट्नुभएको छ ।

२०७९ पुस १० मा प्रधानमन्त्री बन्दा प्रचण्डले पहिलो पटक पुस २६ मा विश्वासको मत लिँनुभएको थियो । जतिबेला २६८ मत पक्षमा र विपक्षमा २ मत मात्र परेको थियो । दोस्रो पटक २०७९ चैत ६ मा १७२ मत, तेस्रो पटक २०८० फागुन ३० र चौथो पटक जेठ ७ मा विश्वासको मत लिँदा समान १५७ मत पाउनुभएको थियो । यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रचण्ड सरकार १८ महिनामा ढलेको छ ।

विगतमा साथ दिएका साना दलहरूले समेत दाहाललाई साथ दिएनन् । आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले प्रचण्डको पक्षमा खुलेर मत हालेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ