Wednesday, 24 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा विमान दुर्घटनाको इतिहास : ७८ वर्षमा ५३ वटा दुर्घटना, ९ सय ४० को निधन !

नेपालमा विमान दुर्घटनाको इतिहास : ७८ वर्षमा ५३ वटा दुर्घटना, ९ सय ४० को निधन !


काठमाडौं । नेपालमा पछिल्लो ७८ वर्षमा ५३ वटाभन्दा बढी विमान तथा हेलिकप्टर दुर्घटना भएका छन् । नेपालमा भएका विमान तथा हेलिकप्टर दुर्घटनामा परेर ९ सय ४० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । एकपछि अर्कोगर्दै नेपाली आकाशमा विमान दुर्घटना भैरहँदा नेपाली आकाश असुरक्षित कि बिमान, मानविय अर्थात चालकको दोष कति भन्ने प्रश्न अहिलेसम्म पनि अनुत्तरित छ । बुधबारमात्रै पनि सौर्य एयरको विमान दुर्घटनाले फेरी झस्काएको छ ।

यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास
पहिलो पटक सन् १९४६ मे ७मा रोयल फोर्स एयरको विमान दुर्घटना भएर नेपाली आकाशमा दुर्घटनाको सुरुवात भएको थियो । यो समयमा मानविय क्षति हुन पाएन । सन् १९५५ मा कालिंगा एयरको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो, यो नै नेपालमा विमान दुर्घटना हुँदा पहिलो पटक भएको मानविय क्षति थियो । यसपछि सन् १९५६ मा काठमाडौंमा इण्डियन एयरलाइन्सको विमान दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए । सन् १९५७ मा इण्डियन एयरलाइन्सकै अर्को विमान ललितपुरको टीकारभैरवमा दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो ।सन् १९५८ मा इण्डियन एयरलाइन्सको अर्को विमान नेपालमा दुर्घटना हुँदा २० जनाको मृत्यु भयो । सन् १९६० मा नेपाल एयरलाइन्सको विमान भैरहवामा दुर्घटना हुँदा चार जना यात्रुको मृत्यु भएको थियो । सन् १९६२ मा ढोरपाटनमा नेपाल एयरलाइन्सको अर्को विमान दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए । केही महिनापछि नै नेपाल एयरलाइन्सको अर्को विमान ढोरपाटनमै दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । सन् १९६९ मा समेत नेपाल एयरलाइन्सको अर्को विमान दुर्घटनामा हुँदा ३५ जनाको मृत्यु भएको थियो । सन् १९७० मा दिल्लीमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा एक जनाको ज्यान गयो ।

सन् १९७० मा नै रोयल लाइटको विमान जोमसोममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । यसको दुई वर्षपछि रोयल लाइट धुलिखेलमा दुर्घटना हुँदा ३१ जनाले ज्यान गुमाएका थिए । नेपाल एयरलाइनसको विमान सन् १९७५ मा काठमाडौँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो । सन् १९७६ मा मेघौलीमा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । सन् १९७९ मा लाङ्टाङमा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको विमान सन् १९८१ मा विराटनगरमा दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको विमान सन् १९८४ मा भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाएका थिए । सन् १९८५ मा नेपालमा अर्को विमान दुर्घटना भयो, जतिबेला २५ जनाले ज्यान गुमाएका थिए । थाई एयरको विमान सन् १९९२ मा रसुवामा दुर्घटना हुँदा १ सय १३ जनाको मृत्यु भएको थियो ।

सन् १९९२ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना भएको थियो । १ सय ६७ जनाको मृत्यु भएको यो नै नेपालमा भएको विमान दुर्घटनाको सबैभन्दा ठूलो मानविय क्षती थियो ।सन् १९९२ मा एभरेष्ट एयरको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।सन् १९९५ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।सन् १९९७ मा कर्णाली एयरको विमान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।सन् १९९८ मा नेपालमा लिबानी विमान दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको थियो ।सन् १९९८ मासोलुखुम्बुमा भएको एसियन एयरको विमान दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको विमान सोलुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।नेकोन एयरको विमान सन् १९९९ मा जुम्लामा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका थिए । सोही वर्ष मकवानपुरमा स्काइलाइनको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।सन् २००० मा डडेल्धुरामा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा २५ जनाले ज्यान गुमाएका थिए । सन् २००१ मा रारा तालमा फिस्टेल एयरको हेलिकप्टर खस्दा चार जनाको मृत्यु भएको थियो ।यस्तै, स्काइलाइनको विमान सन् २००२ मा सुर्खेतमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । सन् २००२ मा कास्कीमा सांग्रीला एयरको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । सन् २००४ मा लम्जुङमा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका थिए । एयर डाइनेस्टिको विमान सन् २००५ मा दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको थियो ।

यस्तै, यती एयरलाइन्सको विमान सन् २००६ मा जुम्लामा दुर्घटनामा हुँदा ९ जनाले ज्यान गुमाएका थिए । सन् २००६ मै यती एयरलाइन्को अर्को विमान लुक्लामा दुर्घटनामा हुँदा १९ जनाको ज्यान गएको थियो ।सन् २०१० मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । तारा एयरको विमान सन् २०११ मा ओखलढुंगामा भएको दुर्घटनामा परेर २२ जनाले ज्यान गुमाएका थिए । सोही वर्ष बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।सन् २०१२ मा जोमसोममा अग्नी एयरको विमान दुर्घटनामा परेर १५ जनाको ज्यान गएको थियो । सोही वर्ष सीता एयरको विमान काठमाडौंमा दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाए । नेपाल एयरलाइन्सको विमान सन् २०१४ मा अर्घाखाँचीमा दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भएको थियो । सन् २०१५ मा भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनामा पर्दा १३ जनाको मृत्यु भएको थियो ।सन् २०१५ मा नेपालमा अर्को हेलिकप्टर दुर्घटना भयो, जतिबेला चार जनाले ज्यान गुमाएका थिए । तारा एयरको विमान सन् २०१६ मा दुर्घटना हुँदा २३ जनाको मृत्यु भयो । सन २०१८ मा युएस–बाङ्ग्ला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो । सोही वर्ष अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । सन् २०१८ मा नै मकालु एयरको विमान सिमिकोटमा दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । एयर डाइनेस्टीको हेलिकप्टर सन् २०१९ मा ताप्लेजुङको सिस्नेभीरमा दुर्घटनामा पर्दा७ जनाको मृत्यु भएको थियो । सोही वर्ष समिट एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।सन २०२२ मे मा पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्विनअटर ‘नाइन एनएइटी’ विमान मुस्ताङको थसाङ–२ मा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुको ज्यान गएको थियो ।

पोखरामा सन २०२३ जनवरी १५ मा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाले ज्यान गुमाएका थिए । नेपालको आन्तरिक उडानमा भएको यो नै सबैभन्दा ठूलो मानविय क्षती थियो । सौर्य एयरको ९ एन–एएमई÷ सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान सवा ११ बजेर १५ मिनेटमा दुर्घटना हुँदा क्याप्टेन मनिष शाक्यको घाइते अवस्थामा उपचार हुँदैछ, चालक दलका एक सदस्यसहित १८ जनाको निधन भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ