Friday, 20 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअसोज ३ अर्थात संविधान जारि भएको दिन, यसरी मनाइयो राष्ट्रिय दिवस !

असोज ३ अर्थात संविधान जारि भएको दिन, यसरी मनाइयो राष्ट्रिय दिवस !


काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस,स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँएको छ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघसंस्था,नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने गर्दछन् ।

‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको नौ वर्ष पूरा भएको छ । संघीय राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा बिहान संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, मन्त्री, लगायतका विशिष्ट व्यक्तिहरु सहभागि हुनुभएको छ । संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले स्वतन्त्रता दिएको छ, यसको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने धारणा राख्नुभएको छ । साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम रहेको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम गरिएका छन् । नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । ३५ भाग ३ सय ८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायत पक्षलाई आत्मसात गरेको छ ।

संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ । सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङ्गीतिक प्रस्तुती हुनेछ । यसैबीच,संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देश दिएका छन् ।।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ