Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपढ्नै पर्ने पछिल्लो २४ घण्टाका नेपालका खबर

पढ्नै पर्ने पछिल्लो २४ घण्टाका नेपालका खबर


काठमाडौं । कोरोना कहरदेखी राजनीतिक उतारचढाव, विमानस्थल निर्माणको प्रगती लगायतका समाचारले नेपालमा प्राथमिकता पाइरहँदा पछिल्लो २४ घण्टाका प्रमुख पाँच खबर यस्ता छन् ।

१. काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा
पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । कोरोना जित्नेहरुको संख्या १३ हजार ८ सय ७५ पुग्दा काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ५ सय ६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका ३, मोरङका १७, ओखलढुङ्गाका १, सप्तरीका १५, धनुषाका ८, महोत्तरीका ८, बाराका १, इलामका १ र पर्साका १४,भक्तपुरका १, कपिलवस्तुका ३४, काठमाडौँका ४८, नुवाकोटका १, सिन्धुपाल्चोकका ४, दाङका १, गोर्खाका १, ललितपुरका ४, रामेछापका १, धनुषाका १, सर्लाहीका १, कास्कीका २, लमजुङका २, स्याङजाका १८,बाराका ४, रौतहटका १, मकवानपुरका १, दाङका ५, बाँकेका ३, नवलपरासीका ७, रुपन्देहीका २, सुर्खेतका ३, दैलेखका १, बझाङका ३, डोटीका ५८, अछामका १६, दार्चुलाका १, कैलालीका १८ तथा कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका बझाङ बुंगल–३ का ६५ वर्षिय पुरुषमा मंगलबार संक्रमण पुष्टि भएको हो । असार २४ गते भारतको बैंग्लोरबाट नेपाल आएका उनी १४ दिन आइसोलेशन राखेर लक्षण नदेखिएको भन्दै घर पठाइएका व्यक्ति हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

२.जगदम्बा इन्टरप्राइजेज सिल
पर्साको जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय पर्साले उद्योग सिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसहितको टोली उद्योगमै गएर जगदम्बा इन्टरप्राइजेज सिल गरेको हो । अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना उद्योग प्रवेशमा रोक लगाइएको छ ।

बन्दाबन्दीको समयमा जगदम्बा इन्टरप्राइजेजले भारतबाट लुकाइ छिपाई मजदुर ल्याएर काम गराइरहेको समेत पाइएको छ । संक्रमित पुष्टि भएका तर लक्षण नदेखिएकालाई उद्योगकै खर्चमा उद्योग भित्रै वा अन्य उपयुक्त स्थानमा आइसोलेसन सेन्टर स्थापना गरी राख्न, संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका तथा असार १५ गते पछि भारतबाट आएका सबै कामदार, कर्मचारीको पीसीआर चेकजाँच गराउन, पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका तथा अन्य शंकास्पद सबैलाई उद्योगकै खर्चमा उद्योग भित्रै वा उद्योग बाहिर उपयुक्त स्थानमा क्वारेन्टिनको व्यवस्था गर्न प्रशासनले निर्देशन दिएको छ ।

सरकारले जेठ १२ गते तोकिएको स्थानबाट मौ नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजिकरण गर्ने सम्बन्धी आदेश जारी गरे पनि खुला सीमानाको दुरुपयोग गर्दै मानिसहरु जुनसुकै स्थानबाट समेत नेपाल प्रवेश गर्दा कोरोनाको जोखिम बढेको छ ।

३.प्रधानमन्त्री ओली नैतिक संकटमा
एकलौटी निर्णयमा चल्ने स्वभावका कारण नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट नैतिक संकटमा फसेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको स्थायी कमिटीको बैठकले ओलीलाई ठाडो चुनौती दिँदै उनीविरुद्ध बहुमतले प्रस्ताव पारित गरेपछि नैतिक संकटमा परेका हुन् । मंगलबार बिहान ११ बजे आयोजित स्थायी कमिटीको बैठक एकलौटी रुपमा स्थगनको घोषणा गरेर प्रधानमन्त्री ओली आफू त सहभागी भएनन् नै, आफ्नो समूहका १४ नेताहरुलाई उपस्थित नहुन निर्देशन दिए । तर ४४ सदस्यीय स्थायी कमिटीका २९ जनामात्रै सहभागी भएर बैठक बस्यो । बैठकले स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निष्कर्ष सहित पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र पार्टीको वर्तमान संकटललाई सकारात्मक ढंगले निकास दिन योगदान पु¥याउनका निम्ति पार्टीका सबै नेता कार्यकर्ता र सदस्यहरुलाई आआफ्नो ठाउँबाट भूमिका खेल्न पनि बैठकले आह्वान गरेको छ । बहुमतको निर्णय भइरहँदा सहमतिका लागि भन्दै ६ बुदे प्रस्ताव पेश गरेका बामदेव गौतमलाई भेट्न प्रधानमन्त्री आफै साँझ भैंसेपाटी पुगेका थिए । बहुमत स्थायी समिति सदस्यले पार्टी बिधि बिधान अनुसार चल्नुपर्ने, ओलीको स्वेच्छाचारिता अन्य हुनुपर्ने पक्षमा देखिदा स्थायी कमिटी सदस्य एवं मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा दुर्घटना नजिक देखिन्छ सल्लाह गरौं भन्ने लेखेर नेकपामा बिवाद थप उग्र भएको संकेत गरेका छन् ।

४.अन्तिम चरणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रगति ६२ प्रतिशत पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार लकडाउनका बीचमा पनि यस विमानस्थलको कामले निरन्तर पाउँदा निमार्णले गति लिएको हो । अहिले विमानस्थल निर्माणमा ३ सय ४४ जना कामदार खटिएका मध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार रहेको बताइएको छ । १५ असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ५९ प्रतिशत थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम जारी रहेको छ । राष्ट्रिय गौरवको यो आयोजना कुल २१ अर्ब रुपैयाँ लागतमा निर्माण हुँदैछ ।

५.पुर्वमन्त्री  थापा बने कांग्रेस
राप्रपा परित्याग गरेका पूर्वमन्त्री समेत रहेका नेता सुनिलबहादुर थापा आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबादुर देउवाले थापासहितका राप्रपा परित्याग गरेका १४ जना शिर्ष नेताहरुलाई कांग्रेसमा स्वागत गरेका हुन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै थापाको नेतृत्वमा राप्रपाका विभिन्न तहका ३१ जना नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । विद्रोहको नेतृत्व गर्ने सुनिल पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा हुन् ।

थापाले राप्रपामा लोकतन्त्रिक चरित्र र धार सकिएकाले कांग्रेसमा प्रवेश गरेको बताए । कांग्रेसले उनलाई सहमहामन्त्री बनाउने भएको छ । थापासँगै केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मा र उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा,विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेतलगायत १४ जना शिर्ष नेता कांग्रेस प्रवेश गरेका छन् भने अन्य सय भन्दाबढी नेता कार्यकर्ता कोरोना महामारीका कारण काठमाडौं आउन नसकेका कारण सम्बन्धित जिल्लाबाटै प्रवेश गर्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ