गैर आवासीय नेपालीहरुले अब मोफसलका कार्यालयबाट समेत भिसा सुविधा पाउने
काठमाडौं, गैरआवासीय नेपालीहरुले अब काठमाडौंबाहेक मोफसलका अध्यागमन कार्यालयहरुबाट समेत भिसा जारी गर्न र नविकरण गर्न पाउने भएका छन् ।
अध्यागमन विभागले भिसा नवीकरण तथा नयाँ जारी गर्न काठमाडौं आइरहनुपर्ने बाध्यता हटाउँदै मोफसलका दुई वटा अध्यागमन कार्यालयलाई यसको अधिकार दिएको हो । विभागका अनुसार अब गैर आवासीय नेपाली भिसा तथा गैरपर्यटक नाता भिसा अध्यागमन कार्यालय काकडभिट्टा र अध्यागमन कार्यालय पोखराबाट पनि उपलब्ध हुनेछ । कोरोना भाइरसको संक्रमणसँगै विभागले केन्द्रबाट हुने धेरै सेवा बन्द गरेको छ । पर्यटक भिसामा सहजीकरण विभागले लकडाउनपछि नेपालमा अड्किएका पर्यटकको भिसामा समेत सहजीकरण गरिदिएको छ । विभागका अनुसार २०२० मार्च २१ (२०७६ चैत ८) सम्म भिसा नियमित भएका विदेशी अन्तर्राष्ट्रिय उडान सूचारु भएको मितिले १५ दिन भित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सिमानास्थित अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित हुने भएको छ । उडान खुलेको १५ दिन भित्र समेत आफ्नो मुलुक फर्कन नसक्ने पर्यटक तथा गैरआवासीय नेपालीको हकमा साउन ३० सम्मको अवधिको निःशुल्क र त्यसपछिको अवधिको बढीमा मंसिर मसान्त (डिसेम्बर १५ २०२०) सम्म नियमअनुसार भिसा शुल्क लिएर पर्यटक भिसा नियमित गरिने अध्यागमनले जानकारी दिएको छ ।
यसअघि विभागले २०७६ चैत ८ सम्म जुनसुकै भिसा नियमित भएकाको भिसा २०७७ साउन ३० सम्म नियमित गरेमा विलम्ब शूल्क र जरिवाना नलाग्ने जनाएको थियो । अब भने अध्यागमन विभागको सेवा पुनः सुरु भएको मितिले १५ दिन भित्र नवीकरण गरेमा जरिवाना र बिलम्व शुल्क नलिई भिसा नवीकरण हुनेछ । सरकारले अब पर्यटन भिसामा आएका विदेशी नागरिकले भिसा परिवर्तन गर्न चाहेमा गर्न सक्ने व्यवस्था गरेको छ । अझ योसेवा अध्यागमनका सेवा खुलेको १५ दिनसम्म निःशुल्क गरिएको छ ।
तपाईको प्रतिक्रिया