सर्वोच्च अदालतको नेतृत्वमा सपना प्रधान मल्ल
आजबाट कामु प्रधानन्यायाधीशको जिम्मेवारी
काठमाडौं । सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मंगलबारबाट ६५ वर्षे उमेरहदले अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले संबैधानिक व्यवस्था अनुसार कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको हो । नेपालको संविधानको धारा १२९ (९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीश स्वतः कामु प्रधानन्यायाधीश बन्ने उल्लेख छ । मल्ल सर्वोच्च अदालतमा करिव १५ वर्ष कार्यरत रहँदा लैंगिक,घरेलु हिंसा, संवैधानिक मामिलाका थुप्रै मुद्धामा दुरगामी महत्व राख्ने नजिर प्रतिपादन गर्नुभएको छ । न्यायपरिषदले अघिल्लो महिना नै प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना न्यायाधीशको रोष्टर (सूची) संवैधानिक परिषदमा पठाए पनि जेनजी प्रदर्शनबाट प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक परिषद निष्कृय अवस्थामा छ । परिषदले बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरु कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम बुझाएको छ । संबैधानिक व्यवस्था अनुसार सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको र ६५ वर्ष उमेर नपुगेको व्यक्ति प्रधानन्यायाधीश हुन योग्यता हुन्छन् ।
यस्तो छ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया
अब प्रतिनिधिसभाले सभामुख, उपसभामुख चयन गरेर प्रमुख विपक्षी दलको नेता टुंगो लागेपछि मात्रै संवैधानिक परिषदले पूर्णता पाउँछ । न्यायपरिषदले पठाएका ५ जनाको लिस्टबाट संवैधानिक परिषदले नयाँ प्रधानन्यायाधीशको नाम प्रस्ताव गरेपछि संसदीय सुनुवाइ विशेष समितिमा संसदीय सुनुवाइ हुन्छ । यो समितिबाट अनुमोदन भएपछि प्रस्तावित प्रधानन्यायाधीशले राष्ट्रपतिबाट नियुक्ति पाउँने संबैधानिक व्यवस्था रहेको छ । यी सबै प्रक्रिया पुरा गर्न कम्तिमा पनि एक महिना लाग्ने देखिन्छ ।
को हुन् कामु प्रधानन्यायाधीश मल्ल ?
त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गर्नुभएकी सपना प्रधान मल्लले दिल्ली विश्वविद्यालयमा कानूनमै स्नातकोत्तर गर्नुभएको छ । अमेरिकाको हार्वर्डबाट जनप्रशासनमा स्नातकोत्तर समेत गर्नुभएकी मल्लसँग सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि विभिन्न अन्तराष्ट्रिय संघसंस्था, कानून न्याय एवं मानवअधिकारका विषयमा काम गरेको अनुभव रहेको छ । संयुक्त राष्ट्रसंघको यातना विरुद्धको समितिमा विज्ञ सदस्यको रुपमा काम गर्नुभएकी मल्ल २०६४ सालदेखि २०६९ सालसम्म संविधानसभा सदस्यका रुपमा समेत संविधान लेखनमा क्रियाशिल बन्नुभएको थियो । २०४५ सालदेखि कानून व्यवसायमा सक्रिय मल्लले २०४६ देखी दुई वर्ष नेपाल ल क्याम्पसमा अध्यापकको रुपमा काम गर्नुभयो । २०६९ सालमा बरिष्ठ अधिवक्ताको उपाधि पाउनुभएकी सपना प्रधान मल्ल २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएको थियो ।
















तपाईको प्रतिक्रिया