अस्ट्रेलियामा नेपाली महिला कामदारको शोषण, कम्पनी र मालिकलाई १ लाख ७७ हजार डलर जरिवाना

काठमाडौं- अस्ट्रेलियामा नेपाली महिला कामदारलाई तलब नदिई आर्थिक शोषण गरेको अभियोगमा एकाउन्टिङ कम्पनी र त्यसका मालिकलाई अदालतले १ लाख ७७ हजार अस्ट्रेलियन डलर जरिवाना गरेको छ।
सिड्नीमा रहेको ‘Innovative Associates’ नामक एकाउन्टिङ कम्पनीले Temporary Graduate Visa मा रहेकी ३० वर्षीया नेपाली महिलालाई सहायक एकाउन्टेन्टका रूपमा काममा लगाए पनि सुरुका १० हप्तासम्म तलब नदिएको पाइएको हो।
त्यसपछि कम्पनीका मालिक डिला राम खरेलले ती महिलालाई आफ्नै पैसा कम्पनीको बैंक खातामा जम्मा गर्न लगाई सोही रकमबाट तलब, कर र सुपरएन्युएसन भुक्तानी गरेको देखाउने गरेको अनुसन्धानबाट खुलेको छ। यसरी कागजमा तलब भुक्तानी भएको देखाइए पनि उनले वास्तवमा काम गरेबापत खुद तलब पाएकी थिइनन्।
फेयर वर्क ओम्बड्सम्यानको अनुसन्धानपछि कम्पनीले ती महिला कामदारलाई कम भुक्तानी तथा अन्य बक्यौता रकमबापत ४० हजार १६४ डलर ४९ सेन्ट फिर्ता गरिसकेको छ।
अदालतले गैरकानुनी रूपमा कामदारको पारिश्रमिक रोक्ने तथा सरकारी अनुसन्धानलाई समेत झुक्याउने प्रयास गरेको भन्दै कम्पनीलाई १ लाख ४८ हजार डलर र मालिक खरेललाई २९ हजार डलर जरिवाना तोकेको हो।
नक्कली पे- स्लिप तयार गरी अनुसन्धानकर्तालाई गलत विवरण दिएको र भिसामा रहेका कमजोर कामदारको शोषण गरेको घटनामा अदालतले यस्तो गैरकानुनी व्यवहार स्वीकार्य नहुने स्पष्ट सन्देश दिएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






