अस्ट्रेलियाको टोम्बामा सञ्चालित नेपालीको दरबार क्याफे एण्ड रेस्टुरेन्टमा तोडफोड तथा लुटपाट भएको छ।
रेस्टुरेन्ट सञ्चालकका अनुसार आइतबार बिहान करिब ३ः३० बजे चार जना नकाबधारी व्यक्ति रेस्टुरेन्टमा प्रवेश गरी तोडफोड गरेको थिए।
उनीहरूले रेस्टुरेन्टमा रहेका मदिराका बोतल तथा टिलमा राखिएको करिब ४५० अस्ट्रेलियन डलर नगद समेत लुटेर लगेका उनले बताए।
सञ्चालकका अनुसार उनीहरूले मदिराका बोतल गाडीमा भरेर लगेका थिए भने बाँकी मदिराका बोतल र रेस्टुरेन्टका सामानमा समेत तोडफोड गरेका थिए। छेउको पसलमा समेत प्रवेश गर्ने प्रयास गर्दा सिसा फुटेको उनले बताए।
उनका अनुसार घटनाबाट ठूलो आर्थिक क्षति नभए पनि मानसिक डर र त्रास बढी पैदा भएको छ।
यो दरबार क्याफे एण्ड रेस्टुरेन्टमा भएको लुटपाटको घटना पहिलोपटक भने होइन। करिब डेढ महिनाअघि पनि राति करिब ३ बजे नै रेस्टुरेन्टमा प्रवेश गरी मदिरा चोरी भएको सञ्चालकले बताएका छन्।
करिब छ वर्षअघि सञ्चालनमा आएको रेस्टुरेन्टमा पटक-पटक यस्ता घटना भए पनि सेवा बन्द नगर्ने सञ्चालकले बताएका छन्। घटनापछि रेस्टुरेन्टले सामाजिक सञ्जालमार्फत ग्राहकलाई सेवा निरन्तर रहने जानकारी दिएको छ।
अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यमा नेपाली व्यवसाय लक्षित यस्ता घटना यसअघि पनि भएका छन्। करिब दुई वर्षअघि ब्रिसबेनमा नेपालीले सञ्चालन गरेका दुईवटा सुन पसलमा समेत तोडफोड तथा लुटपाट भएको थियो।
अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सको तथ्यांकअनुसार पछिल्लो उपलब्ध वर्षमा अस्ट्रेलियाभर १० हजार ५९१ वटा लुटपाटका घटना दर्ता भएका थिए। तीमध्ये २ हजार ६०६ घटना क्विन्सल्यान्डमा भएका थिए।
यद्यपि, क्विन्सल्यान्डमा यस्ता घटनाको संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ।