NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

५ घण्टामै सन्जु राईको पार्थिव शरीर नेपाल पठाउन ३६ हजार ३९० अस्ट्रेलियन डलर संकलन

नेपालट्युब

अस्ट्रेलियामा सडक दुर्घटनामा ज्यान गुमाएकी नेपाली विद्यार्थी सन्जु राईको पार्थिव शरीर नेपाल पठाउन ५ घण्टामै गो-फन्ड-मी मार्फत् ३६ हजार ३९० अस्ट्रेलियन डलर संकलन भएको छ।

सन्जुका दाई योगेश राईले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। उहाँले विशेषगरी सहयोग अभियानमा साथ दिने नेपालट्युबलगायत नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभएको छ।

न्यु साउथ वेल्सको ब्ल्याक स्प्रिङ क्षेत्रमा अक्टोबर २ मा भएको कार दुर्घटनामा २५ वर्षीया सन्जुको मृत्यु भएको थियो भने अर्की २४ वर्षीया नेपाली विद्यार्थी गम्भीर घाइते हुनुभएको थियो।

न्यु साउथ वेल्स प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार साँझ २ बजे ब्ल्याक स्प्रिङ क्षेत्रमा एउटा कार दुर्घटनामा परेको थियो। मोडमा रहेको सडकबाट कार अनियन्त्रित भएर सिधै अगाडि गई रुखमा ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको थियो।

उहाँहरू न्यु साउथ वेल्सकै बाथर्स्टमा बस्दै आउनु भएको थियो। दुवै जना गोलबर्नस्थित अस्पतालमा नर्सिङको प्लेसमेन्ट सकेर घर फर्किने क्रममा दुर्घटनामा परेको परिवार बताउनुभएको छ।

उहाँहरूको नर्सिङ अध्ययनको यो अन्तिम प्लेसमेन्ट थियो। यसपछि रजिस्टर्ड नर्सका रूपमा काम गर्ने तयारीमा रहेको बताइएको छ।

मृतक सन्जु राई सिन्धुलीकी हुनुहुन्छ। उहाँ नर्सिङ अध्ययनका लागि केही समयअघि अस्ट्रेलिया पुग्नुभएको थियो। उहाँ श्रीमानसँगै अस्ट्रेलियामा बस्दै आउनुभएको थियो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार