अस्ट्रेलियामा कुन पेशाका कामदारको भिसा प्रक्रिया प्राथमिकतामा?

अस्ट्रेलिया सरकारले केही महत्वपूर्ण क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको भिसा आवेदन प्रक्रियालाई प्राथमिकता दिने भएको छ।
सरकारले गत सेप्टेम्बर १९ देखि नयाँ मन्त्रिस्तरीय निर्देशन १२१ र १२२ लागू गरेको हो।
यी निर्देशनले यसअघि लागू रहेको मन्त्रिस्तरीय निर्देशन ११९ लाई प्रतिस्थापन गरेको एभरेस्ट ग्लोबल इन्टरनेसनल एजुकेसन एन्ड भिसा, पर्थका रजिस्टर्ड माइग्रेसन एजेन्ट सूर्य आचार्यले जानकारी दिनुभयो।
उहाँका अनुसार नयाँ व्यवस्थाअनुसार कृषि, जलकृषि, माछापालन, निर्माण, स्रोत तथा खानी, स्वास्थ्य र शिक्षालगायत क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको भिसा आवेदन प्रक्रियालाई प्राथमिकता दिने छ।
स्वास्थ्य क्षेत्रमा नर्स, हेरचाहकर्ता तथा सम्बन्धित पेशामा काम गर्ने व्यक्तिका आवेदन पनि तोकिएको प्राथमिकताअनुसार अगाडि बढाइनेछ।
शिक्षातर्फ बाल हेरचाह र व्यावसायिक शिक्षा तथा तालिमका शिक्षकसम्बन्धी आवेदनलाई पनि प्राथमिकतामा राखिने व्यवस्था छ।
तर प्राथमिकतामा पर्नु भनेको भिसा पाउने ग्यारेन्टी भने होइन। यसले भिसा आवेदनको प्रक्रिया कुन क्रममा अगाडि बढाउने भन्ने मात्र निर्धारण गर्छ। भिसा पाउन सम्बन्धित आवेदकले तोकिएका सबै योग्यता पूरा गर्नुपर्छ।
यो प्राथमिकता व्यवस्था स्थायी पनि होइन। अस्ट्रेलियाको श्रम बजारमा देखिएको आवश्यकता, दक्ष जनशक्तिको अभाव तथा विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा सरकारले प्राथमिकता परिवर्तन गर्न सक्छ।
नयाँ व्यवस्थाअन्तर्गत १८६, १८७, १८९, १९०, १९१, ४८९ र ४९४ लगायतका निश्चित दक्ष तथा स्थायी वा अस्थायी प्रकृतिका भिसा आवेदनको प्रक्रिया प्राथमिकताका आधारमा अघि बढाइनेछ।
त्यसैले अहिले अस्ट्रेलियामा अध्ययन गरिरहेका वा दक्ष तथा स्थायी भिसाको तयारी गरिरहेका व्यक्तिले अहिलेको प्राथमिकता सूचीलाई मात्र आधार बनाएर भविष्यको निर्णय गर्नु उचित नहुने विज्ञहरूको सुझाव छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







