NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा नेपाली मूलका शंकर धरेल चुनावी मैदानमा

नेपालट्युब

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा हुन लागेको निर्वाचनमा नेपाली मूलका युवा शंकर धरेल पनि उम्मेदवार बन्ने हुनुभएको छ।

नोभेम्बर २८ मा हुने निर्वाचनमा उनी प्रमुख प्रतिपक्षी दल लिबरल पार्टीका तर्फबाट लेजिस्लेटिभ काउन्सिल (माथिल्लो सदन) को नर्दर्न मेट्रोपोलिटन रिजनबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

नर्दर्न मेट्रोपोलिटन रिजनमा लेजिस्लेटिभ काउन्सिलका पाँच सिट छ। यसअघि यहाँ लेबर पार्टीले दुई, ग्रीन र लिबरल पार्टीले एक-एक तथा एक स्वतन्त्र उम्मेदवारले एक सिट जित्नुभएको थियो।

यसपटकको निर्वाचनमा प्रतिस्पर्धा थप कडा हुने देखिएको धरेलले बताउनुभएको छ। भिक्टोरियाको लिबरल पार्टीको पछिल्लो प्रदर्शन र विभिन्न सर्वेक्षणले पार्टीको अवस्था सुधारिएको देखाएको उहाँको भनाइ छ।

नर्दर्न मेट्रोपोलिटन रिजनमा नेपालीसहित विभिन्न आप्रवासी समुदायको बाक्लो बसोबास छ। भिक्टोरिया बहुसांस्कृतिक राज्य भएकाले आप्रवासी समुदायको राजनीतिक सहभागिता महत्वपूर्ण हुने धरेलको भनाइ छ।

यसअघि सन् २०१८ मा पीजे श्रेष्ठले सिड्नीबाट लिबरल पार्टीका तर्फबाट संघीय सांसदको उम्मेदवारी दिनुभएको थियो। विनोद पौडेलले पनि लिबरल पार्टीबाट निर्वाचनमा प्रतिस्पर्धा गरिसक्नुभएको छ।

धादिङमा जन्मिएका र चितवनमा हुर्किएका धरेल सन् २०१३ मा अस्ट्रेलिया पुग्नुभएको थियो। उहाँ हाल कानुन व्यवसायी तथा रजिस्टर्ड माइग्रेसन एजेन्टका रूपमा कार्यरत हुनुहुन्छ।

धरेल निर्वाचित भए नेपाली मूलबाट अस्ट्रेलियाको भिक्टोरिया राज्यको संसद् सदस्य बन्ने पहिलो व्यक्ति बन्नुहुनेछ दाबी गरिएको छ।

उहाँले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले आफू बसेको देशको राजनीतिमा चासो राख्दै राजनीतिक सहभागिता बढाउनुपर्ने बताउनुभएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार