एनआरएनए अष्ट्रेलियाको सदस्यता विवादमा अदालतले दियो नयाँ मिति

एनआरएनए अस्ट्रेलियाको सदस्यता विवाद बारे अक्टोबर २३ तारिखका दिन पहिलो सुनुवाइ हुने भएको छ।
भिक्टोरिया राज्यको सर्वोच्च अदालतले पहिलो सुनुवाईको मिति तय गरेको हो।
यस अघि अदालतले मध्यस्थताका लागि नोभेम्बर ४ को मिति तोकिएको थियो। तर, विपक्षीले परिक्षा र नेपाल जानुपर्ने कारण देखाउँदै केही साता मध्यस्थताको मिति सार्न आग्रह गरेको थियो। यसमा रिटकर्ता सहमत नभएपछि अदालतले पहिलो सुनुवाइको मिति तय गरेको हो।
एनआरएनए अस्ट्रेलियाको जुलाई २५, २०२५ मा भएको निर्वाचनका क्रममा ३८३ जना फर्जी सदस्य बनाइएको आरोप लागेको थियो। फर्जी भनिएका सदस्यहरुको नामावली भेरो भोटिङले अन्तिममा हटाएर मतदानबाट रोकेको थियो।
भिक्टोरियाका एनआरएनए अभियन्ता सनराइज ज्ञवालीले संस्थाभित्र गरिएको गुनासो तथा निवेदनमाथि सुनुवाइ नभएको भन्दै गत मार्च २५ मा भिक्टोरियाको सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
ज्ञवालीले यो मुद्दा राजनीतिक नभई एनआरएनए अस्ट्रेलियालाई सुधार गर्ने अभियान भएको दाबी गर्दै आउनुभएको छ।
उहाँले सीमित व्यक्तिको स्वार्थ र सिन्डिकेटबाट संस्थालाई मुक्त गरी अस्ट्रेलियामा रहेका नेपालीको साझा संस्था बनाउन मुद्दा दायर गरेको बताउनुभएको छ।
रिटमा एनआरएनए अस्ट्रेलियाका दुई नेतृत्व, भिक्टोरियाका एक नेतृत्व र एनआरएनए अस्ट्रेलियालाई विपक्षी बनाइएको छ।
एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले मुद्दा दायर भएको जानकारी पाएपछि बोर्डमा छलफल गरी आवश्यकताअनुसार कानुनी प्रक्रियाबाट अघि बढिरहेको बताउनुभएको छ।
संस्थामा कमीकमजोरी भए पारदर्शी रूपमा सुधार गर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








