अस्ट्रेलियामा जेष्ठ नागरिकको निजी स्वास्थ्य बीमामा नयाँ विवाद

अस्ट्रेलियाली सरकारले ६५ वर्ष वा सोभन्दा बढी उमेरका जेष्ठ नागरिकहरूलाई दिँदै आएको निजी स्वास्थ्य बीमा छुट, घटाउने नयाँ प्रस्ताव ल्याएको छ।
यसबाट करिब ३ अर्ब डलर बचत गरी ऐज्ड केयर सेवामा थप शय्या र सुविधाहरू विस्तार गर्ने सरकारको योजना छ।
अष्ट्रेलियाको स्वास्थ्य तथा वृद्ध हेरचाह विभाग (एफओआइ) ले सार्वजनिक गरेको नयाँ विश्लेषण अनुसार सुरुमा ४४ हजार जनाले मात्र बीमा छोड्ने भनिएको थियो। तर सन् २०२९-३० सम्ममा ७८ हजारदेखि ८० हजार जेष्ठ नागरिकहरूले निजी स्वास्थ्य बीमा त्याग्ने देखिएको छ।
यस विषयमा विपक्षी दलकी छायाँ स्वास्थ्य मन्त्री एन रस्टनले स्वास्थ्य मन्त्रीले सानो संख्या देखाएर जनतालाई अलमल्याएको आरोप लगाउँदै सिनेटमा यो कानुन रोक्ने चेतावनी दिनुभएको छ।
साथै, संसदीय बजेट कार्यालयका अनुसार असर पर्ने ३२ लाख जेष्ठ नागरिकमध्ये धेरैजसो कम आम्दानी भएका पेन्सनरहरू रहेका छन्। त्यसैले स्वतन्त्र सांसद डा. मोनिक रायन र ग्रिन पार्टीले पेन्सनरहरूलाई छुट नदिएसम्म यो विधेयक पास हुन नदिने अडान राख्नुभएको छ।
अर्कोतर्फ, स्टीफन डकेट जस्ता स्वास्थ्य अर्थशास्त्री र दी अस्ट्रेलिया इन्स्टिच्युट जस्ता नीति अध्ययन संस्थाहरूले भने यसको समर्थन गर्नुभएको छ।
उहाँहरूका अनुसार बजेट सरकारी अस्पतालमा खर्च गर्नुभन्दा सोझै वृद्धवृद्धाहरूको हेरचाहमा लगाउनु धेरै प्रभावकारी हुन्छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







