NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

मेलवर्नमा नेपाली युवतीको ७ हजार डलर र गहना चोरी । घरभाडा समेत तिर्न नसक्दा बिचल्ली

Nepaltube Australia

मेलवर्न,

कोरोनाका कारण भिक्टोरिया राज्यको मेलवर्नमा पढिरहेका विद्यार्थीहरु काम नहुदा समस्यामा परिरहेका छन् । त्यस्तै समस्यामा परेकी एक नेपाली छात्रामाथी अर्को बज्रपात परेको छ । कोरोनाकै बिचमा जोखिम मोलेर कमाएको ७ हजार डलर र गरगहना चोरी भएपछि यतिबेला ती नेपाली युवती ठुलै आर्थिक संकटमा परेकी छिन् । पैसा र साढे दुइ तोला सुनका गहना चोरी भएपछि प्रहरीमा उजुरी गर्न पुगेकी ती छात्रा नेपालट्युबको सम्पर्कमा समेत आएकी छिन् । हामीलाई प्राप्त जानकारी अनुसार ती युवतीले मेलवर्न स्थानिय प्रहरी चौकीमा गत सोमबार आफ्नो गरगहना चोरी भएको उजुरी दिएकी छिन् ।
भर्खरै एकाउन्टिङ विषयमा फेडेरेसेन विश्वविद्यालयबाट मास्टर्स सकेकी अधिकारी थरकी ती युवती मेलवर्नको ब्रिन्सविक क्षेत्रमा बस्दै आएकी थिईन । पढाइ सकेर उनी सुनौलो भविष्य खोज्दै भिक्टोरियाको रिजनल क्षेत्र बेन्डिगोमा अघिल्लो हप्ता बसाइ सरेकी हुन् । मेलवर्नबाट बेन्डिगो सर्ने बेलामा सुटकेस भित्र राखिएको नगद र सुनका गहना चोरी भएको युवतीको दाबी छ । उनलाई यत्तिबेला पैसा र गहना हराएको तनाव त छदैछ पैसा नहुदा अब कसरी खर्च धान्ने भन्ने चिन्ताले समेत सताउन थालेको छ । भर्खरै नयाँ ठाउ गएकाले काम नभएको तथा भएकै पैसा पनि चोरी भएपछि खानबस्नै समस्या पर्न थालेको ती युवतीले नेपालट्युबसंग गुनासो गरिन् ।

प्रहरीचौकी दिएको उजुरीको संक्षिप्त विवरण ।

त्यसमाथी केही हप्तामा टिआर भिषा आवेदन हाल्नुपर्ने अवस्था पनि छ । टिआर हाल्नकै लागि पनि त्यत्ति धेरै पैसा साचेर राखेको युवतीको भनाई छ । तर, पैसा चोरी भएपछि भिषा हाल्न पनि समस्या परेको उनीको गुनासो छ । सन् २०१८ मा अष्ट्रेलिया आएकी ती युवतीले आउदा लागेको ऋण नै चुक्ता भइनसकेकाले नेपालबाट थप पैसा मगाउने अवस्था नभएको समेत दुखेसो गरिन् ।
उनले यो जटिल समयमा आफुलाई सहयोग गर्न अष्ट्रेलियावासी नेपालीसमक्ष आग्रह गरेकी छिन् । आफुलाई तत्कालै ३ हजार डलर आवश्यक भएको ती युवतीले बताईन् ।
गैर आवासिय नेपाली संघ भिक्टोरियाका अध्यक्ष प्रेम कँडेलले नेपाली युवतीको घटना सुनेर दुख लागेको भन्दै एनआरएनएको तर्फबाट केही आर्थिक सहयोग गर्ने तथा भिषा आवेदन दिदा शुल्कमा छुटको व्यवस्था गरिदिने बाचा गर्नुभयो ।
कँडेलले घरमा त्यत्ति धेरै रकम नराख्न तथा गरगहनाहरु पनि सुरक्षित ढंगले राख्न सबै नेपालीलँई अनुरोध गर्नुभएको छ ।
यसअघि दशैको टिकाको दिन ब्रिजवेनमा पनि नेपालीको घरमा चोरी भएको थियो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार