ब्रिजबेन,अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु गरिएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा कोरोना महामारि नियन्त्रणमा लिन लकडाउन लागू गरिएको अधिकारीहरुले जानकारी दिएका हुन ।
कोरोनाभाइरसको डेल्टा भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको बताइएको छ । अहिले घोषणा गरिएको लकडाउन यसअघिका लकडाउनभन्दा कडा गरिएको छ । लकडाउनसँगै ब्यस्त हुने शहरहरु केही शान्त देखिन थालेका छन् । पाँच जनाभन्दा बढी हिँड्न नपाउनेगरि निषेधाज्ञा लागू गरिएको छ । यस क्षेत्रमा बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमता कटौती गरिएको जनाइएको छ । घरभित्र वा बाहिर जहाँ गरिने काममा पनि मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्गमिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । शनिबार बिहान ६ बजेदेखि शुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने जनाइएको छ ।
तपाईको प्रतिक्रिया