मंसिर ९ देखी १२ गतेको भाखा राखेर फेरि सर्यो कांग्रेस महाधिवेशन
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन फेरि पनि सरेको छ । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले पार्टी महाधिवेशन सारेर मंसिर ९ देखि १२ गतेसम्म गर्ने निर्णय गरेको हो ।
यसअघि कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएपनि क्रियाशिल सदस्यता विवाद समयमै समाधान हुन नसक्दा प्रभावित भएको थियो । नयाँ कार्यतालिका अनुसार अब क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र भदौ १८ गते वडा अधिवेशन हुनेछ। निर्वाचन निर्देशिका बुझाउने मिति पनि भदौ २ गते नै तोकिएको छ । वडा अधिवेशन भदौ १८ र गाउँ नगरपालिको अधिवेशन भदौ २७ गतेका लागि तय भएको छ । त्यसैगरी प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय गरिएको छ । जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म हुनेछ । केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म सम्पन्न गर्नेगरि नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ ।
पछिल्लो पटक तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो । सामान्य अवस्थामा भए २०७६ को फागुनमै महाधिवेशन गर्नुपर्ने हुन्थ्यो । तर विधानले दिएको अधिकार प्रयोगका नाममा कांग्रेसले पटक–पटक महाधिवेशन सार्ने काम गर्दैआएको छ ।
तपाईको प्रतिक्रिया