Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकसले भन्यो डिसेम्बर १५ पछि विद्यार्थी अष्ट्रेलिया आउन पाउदैन् भनेर ? हामीसंग सरकारले गर्यो पुष्टी

कसले भन्यो डिसेम्बर १५ पछि विद्यार्थी अष्ट्रेलिया आउन पाउदैन् भनेर ? हामीसंग सरकारले गर्यो पुष्टी


ब्रिजवेन /गत शुक्रबार अष्ट्रेलियाको राष्ट्रिय मन्त्रीपरिषदको बैठकले गरेको एउटा निर्णयपछि सिमा विद्यार्थीका लागि थप दुइ महिना बन्द गरियो भन्ने हल्ला फिजिएको छ । के अब साच्चै विदेशी विद्यार्थीहरु फेब्रवरी २०२२ सम्म अष्ट्रेलिया आउन पाउदैनन् त ? केही नेपाली भाषाका संचारमाध्यमहरुको समाचार, टिकटकरको स्वघोषित वाणी तथा अष्ट्रेलियामा बस्नेहरुको आ आफ्नै बुझाईले थप द्वविधा बढाएको छ । त्यसो भए के हो त वास्तविकता ? यस लेखमा हामीले स्पष्ट पार्ने कोसिस गरेका छौ । अष्ट्रेलियाको सरकारी वेवसाइटहरु तथा मन्त्रीपरिषद कार्यलयको आधिकारिक वेवसाइटमा उपलब्ध प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार विदेशी विद्यार्थीलाई फेब्रवरीसम्म सिमा बन्द गरिएकै छैन । मन्त्रीपरिषदको निर्णयको लिंक यहाँ छ पढ्नुहोस् । 

यसको मतलब डिसेम्बर १५ पछि दुबै खोप लगाएका विद्यार्थीहरु अष्ट्रेलियाका खुल्ला गरिएका राज्यहरुमा आउन पाउनेछन् । त्यो पनि बिना कुनै पुर्व अनुमति बिना । तथ्यहरु यस्ता छन् ।

धेरैलाई झुक्काएको यो निर्णय

मन्त्री परिषदले गत शुक्रबार अर्थात डिसेम्बर १० मा ‘ह्युमन बायो सेक्युरिटी इमेरजेन्सी’ को समयसिमा फेब्रवरीसम्म लम्बाउने निर्णय गरेको छ । यो कुनै नयाँ नियम होइन । सन् २०२० मार्चदेखि नै अष्ट्रेलियाले कोभिडबाट आफ्नो नागरिकलाई जोगाउन यो आपतकालिन नियम लागु गर्दै आएको छ । ओमिक्रोनको प्रकोप नियन्त्रण गर्न थप दुइ महिना समय थप गरिएको मात्रै हो ।

मन्त्रीपरिषदको निर्णय

यस नियममा मुख्य चार कुरालाई जोड दिइएको छ ।

१. विदेशबाट आउने यात्रुले अनिवार्य रुपमा कोभिड परिक्षण गरि नेगेटिम भएको प्रमाण पेश गर्नुपर्ने, तथा यात्रा अवधीभर मास्क लगाउनुपर्ने ।
२. पुरा खोप नलगाएका अष्ट्रेलियालीलाई विदेश यात्रामा प्रतिबन्ध लगाउने ।
३. कोरोनाको उच्च जोखिम भएका देशबाट यात्रु आउन प्रतिबन्ध लगाउने ।
४. पानी जहाजबाट यात्रु आउन प्रतिबन्ध लगाउने ।

यो नियम अनुसार अष्ट्रेलियाले ओमिक्रोनको उच्च जोखिम रहेका साउथ अफ्रिकाका ९ देशबाट यात्रा प्रतिबन्ध लगाइसकेको छ । मन्त्री परिषदको यहि निर्णयलाई आधार मानेर धेरैले विद्यार्थीका लागि पनि फेब्रवरीसम्म सिमाना बन्द भनेर लेख्न भ्याए ।

विद्यार्थी लगायत २८ भिषाधारी आउन पाउने 

मन्त्री परिषद बैठक बारे डिसेम्बर १० जारी प्रेस विज्ञप्तीको छ नम्बर बुँदामा उल्लेख ‘रिओपनिङ अफ इन्टरनेशनल बोर्डर एण्ड ट्राभल’  भन्ने शिर्षकमा उल्लेख विवरण धेरैले पढ्न छुटाए । त्यसमा भनिएको छ- ‘ओमिक्रोनले पार्ने रोगको असर, संक्रमणको मात्रा, तथा खोपको प्रभावकारिता बारे स्पष्ट हुन थप सुचनाहरु आवश्यक पर्ने भएकाले अष्ट्रेलियन सरकारले आफ्नो अन्तराष्ट्रिय सिमानालाई कडा पारिराख्ने नीति लिएको छ ।’

मन्त्री परिषदको निर्णय

यस वाक्यलाई मात्रै बुझ्ने हो भने सिमा साच्चै नै सबैका लागि बन्द भए जस्तो देखिन्छ । तर, यस वाक्यको अर्को लाइनमा भने निश्चित भिषाधारीलाई आउन दिने भनिएको छ । उक्त लाइन यस्तो छ- ‘संघिय सरकारले अष्ट्रेलियन नागरिक, पिआरधारी, उनीहरुको निकट परिवार, न्युजिल्याण्ड नागरिक, सिंगापुरको नागरिक, तथा यात्राका लागि अनुमति पाइसकेका यात्रु समुहहरु जस्तै सिजनल कामदार र पाइलट योजना अन्तगर्त आउने विदेशी विद्यार्थीलाई निरन्तर स्वागत गर्नेछ ।’  यो वाक्यमा उल्लेख भएको पाइलट योजना अन्तगर्त आउने विदेशी विद्यार्थी र यसअघि यात्राका लागि अनुमति पाइसकेका यात्रु समुह दुइ फरक फरक विधा हुन् । अब एक छिन पाइलट योजनालाई छोडौ । लागौ यसअघि यात्राका लागि अनुमति पाइसकेका समुहहरु तर्फ ।

यो समुह भनेको चाहि यसअघि अष्ट्रेलियन सरकारले यात्राका लागि अनुमति दिएका २८ वटा भिषाधारीहरु हुन् । जसको विदेशी विद्यार्थीको सबक्लास ५०० भिषादेखि मानविय भिषा, शरणार्थी भिषा, टिआर भिषा र रिजनल भिषाहरु छन् । यी भिषाधारीलाई डिसेम्बर १ बाट आउन दिने भनेर सरकारले यसअघि नै निर्णय गरिसकेको छ । बिचमा ओमिक्रोन देखिएपछि गत नोभेम्बर २९ तारिखमा आपतकालिन बैठक बसेर सरकारले डिसेम्बर १५ सम्म यो योजनालाई स्थगित गरेको हो । ख्याल गर्नुस् है यी २८ वटा भिषाधारीलाई आउन दिने निर्णय रद्ध भएको छैन, केवल १५ दिनका लागि स्थगित गरिएको मात्रै हो । डिसेम्बर १५ सम्म स्थगित गरिएको निर्णय रद्ध नभएको तथो यसअघि आउन दिने भनेको समुहलाई निरन्तर आउन दिइने छ भनेर मन्त्रीपरिषद बैठकले निर्णय गरेकाले स्वतः ती भिषाधारी समुहहरु आउन पाउने देखिन्छ ।

यस कुरालाई पुष्टी गर्न अष्ट्रेलियन सरकारको होम अफेयर्सको आधिकारिक वेवसाइटमा पछि न्यु एरेजमेन्ट अनुसार पुरा खोप लगाएका विद्यार्थी लगायत विभिन्न २८ वटा भिषाधारी समुहलाई डिसेम्बर १५ पछि आउन दिने भनेर स्पष्ट लेखिएको छ । डिसेम्बर १५ पछि आउन पाउने विद्यार्थी लगायत २८ वटा भिषा समुह यस्ता छन् । नपत्याए यो लिंक थिचेर हेर्नुस् । 

न्यु साउथ वेल्स र भिक्टोरिया राज्यले डिसेम्बर १५ पछि विद्यार्थीलाई स्वागत गर्दै

सरकारी वेवसाइटमा उपलब्ध जानकारी अनुसार डिसेम्बर १५ पछि पुरा खोप लगाएका विद्यार्थीलाई तत्कालका लागि न्यु साउथ वेल्स र भिक्टोरियाले स्वागत गर्दैछ । नेपालट्युबलाई न्यु साउथ वेल्स सरकारले दिएको जानकारी अनुसार पनि डिसेम्बर १५ पछि नेपालबाट विद्यार्थीहरु आफ्नो राज्यमा आउन पाउने पुष्टी गरेको छ । टेलिफोन कुराकानीका क्रममा सरकारका एकजना प्रतिनिधीले दुबै खोप लगाएका विद्यार्थीले आएको ७२ घण्टासम्म आइसोलेसन बस्नुपर्ने बताउनुभयो ।
त्यस्तै भिक्टोरिया सरकारको वेवसाइटमा उपलब्ध जानकारी अनुसार पुरा खोप लगाएका विद्यार्थीहरु डिसेम्बर १५ पछि आफ्नो राज्यमा आउन पाउने उल्लेख छ । त्यस्तै कुइन्सल्याण्ड र साउथ अष्ट्रेलियाले भने दुबै खोप लगाउनेको संख्या ९० प्रतिशत पुगेपछि विद्यार्थी आउन दिने जनाएको छ ।  यी जानकारी पछि अब तपाईले सिमाना बारे बुझ्नु भयो होला । त्यसैले हल्लाको पछाडी होइन आधिकारिक सुचनामा भर परौ ।


ट्याग : #Australia border, #covid, #international student, #nsw
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ