Monday, 4 November 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनोभेम्बर ८ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १४ घण्टा मात्रै सञ्चालन हुने

नोभेम्बर ८ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १४ घण्टा मात्रै सञ्चालन हुने

उडान कटौतीले बढ्यो भाडा !


काठमाडौं । आगामी नोभेम्बर ८ अर्थात कात्तिक २३ देखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा आउने भएको छ । त्रिभुवन विमानस्थलको अहिलेको क्षमता थप अभिवृद्धि गर्ने उद्देश्यले दैनिक २१ घण्टा चलिरहेको विमानस्थल सञ्चालन समय १० घण्टा कटौती हुन लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिले उडान गरिरहेको समयमा १० घण्टा कटौँती हुँदा २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका दर्जनौं उडान कटौती हुने र यसबारे वायुसेवा कम्पनीलाई ६ महिना अगाडि नै जानकारी गराइएको जनाएको छ । उडान समय घट्दा साविकको तुलनामा ३० प्रतिशत उडान कटौती भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान समय घट्दा यसको विकल्पमा पोखरा वा भैरहवामा उडान विस्तार गर्न सकिएको छैन । यसकार वायुसेवा कम्पनीले भाडा ह्वात्तै बढाएका छन् । पर्यटन व्यवसायीहरु अक्टोबरदेखि डिसेम्बरसम्म नेपालमा पर्यटकीय सिजन सुरु हुने र यो बेला टिकटको अधिक माग हुने, नेपालीको चाडबाडको मौसम समेत भएकाले आवतजावत धेरै हुँदा स्वभाविक रुपमा भाडा बढ्ने बताउँछन् । विमान कटौतीको मारले थप भाडादर बढ्ने देखिएको छ ।

उडान समय घट्दा वैदेशिक रोजगारीमा जाने नेपालीले समेत चर्को मूल्य तिरेर विदेश जानुपर्ने अवस्था आउने भएको छ । १४ घण्टाको समयमा समेत अधिकतम जहाज उडान गर्न सकिने, यात्रुको समस्या बारे प्राधिकरण, मन्त्रालय र सरकार जिम्मेवार बन्नुपर्ने सुझाब समेत धेरैले दिइरहेका छन् । भैरहवा र पोखरामा अपेक्षित उडान नजाँदा समेत काठमाडौंमा उडानको अधिक चाप परिरहेको छ । बैकल्पिक विमानस्थलका रुपमा बनाइएका भैरहवा र पोखरा विमानस्थल चलाउन आवश्यक एयररुट सहित आधारभूत तहका सर्तसमेत पूरा नगरेका धेरै वायुसेवा कम्पनी वैकल्पिक विमानस्थलमा जान इच्छुक नदेखिदा समेत समस्या देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ