भोटेकोशी-त्रिशूली बाढी: अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित

सरकारले भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्यलाई अत्यावश्यकबाहेक हालका लागि स्थगित गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको राष्ट्रिय परिषद्को बैठकले खोज तथा उद्धारसँगै पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र बनाउने निर्णय गरेको छ।
जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनको सिफारिसका आधारमा खोज तथा उद्धार स्थगित गर्ने निर्णय गरिएको हो।
बाढी प्रभावित क्षेत्रका ५०४ योजना तथा कार्यक्रमका लागि बजेट स्वीकृत गर्न अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ।ती योजनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट आवश्यक पर्नेछ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत योजनाका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ।
लागत अनुमान नखुलेका तथा प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बैठकले निर्देशन दिएको जनाइएको छ।
बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको भन्दै अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि सोही समन्वयमा अघि बढाइने बताउनुभयो।
बैठकमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता र बागमती, गण्डकी, मधेश तथा कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पुनर्निर्माण र पुनर्स्थापनाको काममा सरकारलाई पूर्ण साथ रहने प्रतिबद्धता जनाउनुभएको थियो।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




