Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसमयमा परिक्षा नहुदा नेपालमा पढेका नर्सले अष्ट्रेलियामा दर्ता गर्न ढिलाई । सुरु भयो हस्ताक्षर संकलन

समयमा परिक्षा नहुदा नेपालमा पढेका नर्सले अष्ट्रेलियामा दर्ता गर्न ढिलाई । सुरु भयो हस्ताक्षर संकलन


सरल गुरुङ/ब्रिजवेन
कोरोना प्रकोपका कारण विदेशमा पढेका नर्सले अष्ट्रेलियामा आफुलाई रजिष्ट्रर्ड नर्सको रुपमा दर्ता गर्न समस्या भोगिरहेका छन् । दर्ता प्रकृयाका लागि लिईने परिक्षा अब्जेक्टिभ स्ट्रक्चरर्ड क्लिनिकल एक्ज्यामिनेसन ओएससिई समयमा हुन नसक्दा सयौ विदेशी योग्य नर्सहरुले आफुलाई अष्ट्रेलियामा दर्ता गराउन नपाएका हुन् । उनीहरुमध्ये एक हजार जति त नेपालमा नर्स पढेकाहरु छन् । सन् २०२० मार्चदेखि अष्ट्रेलियाले ओएससिई परिक्षा मार्फत विदेशमा पढेका योग्य नर्स र मिडवाइफहरुलाई पनि दर्ता गराउने सुविधा दिएको हो । यसअघि विदेशमा पढेका नर्सहरुले विश्वविद्यालय वा कलेजमा ३ देखि ६ महिनाको आइरन कोर्स गरेर आफुलाई दर्ता गराउन सक्थे । तर नया प्रकृया अनुसार विदेशमा पढेका नर्सहरुले अष्ट्रेलियामा सैद्धान्तिक र व्यवहारिक ज्ञान आफुसंग भएको प्रमाणित गरेर मात्रै दर्ता लिन सक्ने व्यवस्था गरिएको हो । जसका लागि पहिले नेसनल काउन्सिल लाइसेन्सर एक्ज्यामिनेसन एनक्लेक्स र त्यसपछि ओएससिई परिक्षा दिनुपर्छ । एनक्लेक्स परिक्षा उपलब्ध भएपनि कोरोनाका कारण अष्ट्रेलियाको स्वास्थ्यकर्मीको नियमन गर्ने निकाय आप्राले ओएससिई परिक्षा लिएको छैन । यसअघि परिक्षाका लागि समय लिएका विद्यार्थीहरुको पनि परिक्षा मिति सारिएको छ । जसका कारण सयौ योग्य विदेशी नर्सहरुको दर्ता प्रकृया अन्यौलमा परेको छ ।

आप्राको ध्यान खिच्न हस्ताक्षर संकलन

विदेशमा पढेका योग्य नर्सहरुले दर्ता प्रकृयालाई नियमित सुचारु गर्न आप्राको ध्यानाकर्षण गराएका छन् । नेपाली नर्सहरुको नेतृत्वमा चेन्ज अर्ग वेवसाईटमा हस्ताक्षर पेटिसन संकलन सुरु भएको छ । कबिता कार्कीले सुरु गरेको पेटिसनमा हालसम्म २६ सय जनाले हस्ताक्षर गरिसकेका छन् । पेटिसनमा हाललाई ओएससिइ परिक्षा साउथ अष्ट्रेलियाको एडिलेडमा मात्र उपलब्ध भएको त्यसमा पनि एक पटकमा ४० जना विद्यार्थी मात्र सहभागी हुन पाउने भएकाले धेरै विद्यार्थीले परिक्षा नै दिन नपाएको गुनासो गरिएको छ । त्यस्तै परिक्षाका लागि समय लिइसकेकाहरुको पनि कोभिडको कारण भन्दै पटक पटक समय सारिएकाले दर्ता प्रकृया नै अन्यौलमा परेको जनाइएको छ । परिक्षा ढिलाई हुदा १ हजार भन्दा बढी विदेशमा नर्स पढेका योग्य व्यक्तिहरुको दर्ता प्रकृया अन्यौलमा परेको समेत दाबी गरिएको छ । नेपाल ट्युबसंग कुरा गर्दै एक नेपाली नर्स मनिता ओलीले परिक्षा दिन नपाउदा नर्स बनेर कोरोनाका बेला सेवा गर्ने आफ्नो धोको पुरा हुन नसकेको बताउनुभयो ।
विभिन्न देशमा नर्सिङ सकेर अष्ट्रेलियामा बसी दर्ता गर्न लागिपरेका ५ सयभन्दा बढी योग्य नर्सहरुले फेसबुकमा ग्रुप बनाएर आ आफ्नो समस्या पोखिरहेका छन् । उनीहरु मध्ये कोही मास्टर्स इन नर्सिङ पढिरहेका छन् भने कोही डिपेन्डेण्ट र टिआर भिषामा छन् । भिषा सकिन लाग्दा समेत दर्ता प्रकृया अघि नबढ्दा फेरी नर्सिङ विषय नै पढ्नुपर्ने अवस्था समेत सृजना हुन लागेको मनिताले गुनासो गर्नुभयो । ‘नेपालमै लाखै खर्च गरेर पढियो अष्ट्रेलियामा पनि फेरी पढ्नु परे खर्च कसरी जुटाउने होला’- मनिताले दुखेसो पोख्नुभयो ।
हस्ताक्षर संकलन मार्फत यो समुहले दर्ता परिक्षा नियमित गर्नुपर्ने, यदि नसके पहिले कै जस्ता आइरन कोर्स गर्ने व्यवस्था गरिदिनुपर्ने लगायत माग गरेका छन् । यसबारे नेपालट्युबले आप्रासंग प्रतिक्रिया मागेको छ । आप्राले केही समयमा यसबारे जवाफ दिने इमेल हामीलाई प्राप्त भएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ