Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडिसेम्बरमा यसकारण नेपाली विद्यार्थी पनि अष्ट्रेलिया आउन पाउने संभावना

डिसेम्बरमा यसकारण नेपाली विद्यार्थी पनि अष्ट्रेलिया आउन पाउने संभावना


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियामा मान्यताप्राप्त कोरोना विरुद्धका चारवटा खोप मध्ये कुनै एउटा खोपको दुबै डोज लगाएका र न्यु साउथ वेल्सको पाइलट प्रोजेक्टमा सहभागी भएका विश्वविद्यालयमा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले डिसेम्बरमा अष्ट्रेलिया आउन पाउने भएका छन् ।

कोरोनाका कारण १८ महिनादेखि बन्द रहेको अष्ट्रेलियाको सिमाना बन्द छ । तर, डिसेम्बरबाट भने अष्ट्रेलियाको न्यु साउथ वेल्स  राज्यले पाइलट योजना अन्तगर्त आफ्नो क्षेत्रभित्र रहेका तथा यस  योजनामा सहभागी भएका विश्वविद्यालयमा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई कोटा तोकेर ल्याउन लागेको हो । मान्यता प्राप्त दुबै खोप लगाएका धेरै विद्यार्थी भएका देशमा विश्वविद्यालय आफैले विद्यार्थीलाई सम्पर्क गर्नेछन् । उक्त खोप सिमित मात्रामा लगाएका विद्यार्थी भएको नेपालका विद्यार्थीलाई विश्वविद्यालयले सम्पर्क गर्ने सम्भावना कम भएकाले आफू योग्य भएको विवरण बेलैमा पेस गर्न विद्यार्थी स्वयमले ध्यान दिनुपर्ने देखिन्छ ।

के नेपाली विद्यार्थीले पाउलान त अवसर ?

अष्ट्रेलियामा मान्यताप्राप्त खोपको दुई मात्रा लगाइसकेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो राज्यमा भित्र्याउने गरि विज्ञप्ती जारी गरेको न्यु साउथ वेल्स राज्य सरकारले कुनैपनि देश तोकेर विद्यार्थीलाई आह्वान गरेको छैन ।

यसकारण अष्ट्रेलियामा मान्यताप्राप्त खोपको दुबै मात्रा अर्थात जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका खोप लगाएका र पाइलट योजनामा समेटिएको विश्वविद्यालय कलेजमा भर्ना भएका नेपाली विद्यार्थीहरुले समेत यो अभियान अन्तर्गत अष्ट्रेलिया आउन पाउने सम्भावन देखिन्छ । पहिलो चरणमा ६५० जनासम्म विद्यार्थी चाटर्ड उडान मार्फत ल्याउन संघिय सरकारबाट स्विकृत प्राप्त भएकाले नेपाली विद्यार्थीहरु स्वयम कलेजको प्राथमिकतामा भने नपर्न सक्छन् । जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका खोप लगाएका र पाइलट प्रोजेक्टमा सहभागि कलेजमा भर्ना भएका विद्यार्थीले आफ्नो बिवरण समयमै सम्बन्धित शैक्षिक संस्थामा जानकारी गराएमा भने डिसेम्बरको अष्ट्रेलिया उडानमा पर्न सक्ने देखिन्छ ।

चाटर्ड उडानमार्फत विद्यार्थी लगिने भएकाले नेपालबाटै सिधै उडान हुने सम्भावना भने कम छ । सिंगापुर, मलेशिया, जापान हुँदै नेपाली विद्यार्थीहरु अष्ट्रेलिया जानुपर्ने तथा १४ दिन क्वारेन्टिनको खर्च पनि  विद्यार्थीले नै तिर्नुपर्न भएकाले यसपटकको अष्ट्रेलिया अध्ययनको यात्रा केही महंगो हुने देखिएको छ ।

यी कलेज र विश्वविद्यालयमा जान पाइन्छ

अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालय, मक्योइरी विश्वविद्यालय, द युनिभर्सिटी अफ न्युक्यासल, द युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ न्यु साउथ वेल्स, युटिएस, युनिभर्सिटी अफ ओलङगङ र वेष्टर्न सिड्नी विश्वविद्यालयले यस योजनामा सहभागी छन् । त्यस्तै इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट सिड्नी, क्यापलन, नेभिटास, रेडहिल र स्टडी ग्रुप जस्ता स्वतन्त्र शैक्षिक निकायहरुले पनि योजनामा हस्ताक्षर गरेका छन् ।  अन्तर्राष्ट्रिय विद्यार्थी बोकेको पहिलो उडान डिसेम्बरको अन्त्यतिर सिड्नीमा उत्रिने छ ।

यस्ता छन सर्तहरु

राज्य सरकारका अनुसार दुबै खोप लगाएका विद्यार्थीहरुले न्यु साउथ वेल्स आएपछि पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । यसका लागि सिड्नीको रेडफनमा कोभिड सेभ क्वारेन्टिनको व्यवस्था गरिएको छ । राज्यको डेपुटी प्रिमियर जोन बारलारोका अनुसार अष्ट्रेलियामा मान्यता प्राप्त खोपको दुबै मात्रा लगाएका विद्यार्थीले मात्रै आउन पानेछन् । विमान भाडा र क्वारेन्टिनको सबै खर्च विद्यार्थीले नै व्यहोर्नुपर्नेछ । राज्य सरकारका अनुसार ५७ हजार विद्यार्थीहरु बाहिरै अड्कीएका कारण ती विद्यार्थी ल्याउन यो अभियान थालिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ