Wednesday, 10 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, धुर्मसले नसकेको काम कस्ले गर्दैछ पुरा ?

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, धुर्मसले नसकेको काम कस्ले गर्दैछ पुरा ?


चितवन, काठमाडौं । हास्यकलाकार धुर्मुस सुन्तलीले बनाउन भन्दै अघि बढेर बिचैमा छाडेपछि अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिने भएको छ । रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएसँगै छिट्टै चितवनले सुविधासम्पन्न क्रिकेटर रंगशाला पाउने आशा पलाएको हो ।

आइतबार महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट हिमालयन कालिञ्चोक बीबीआर जेभीका विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्र महानगर प्रमुख रेनु दाहाल र कम्पनीका विकास गौतमले आदान–प्रदान भएसँगै रंगशाला निर्माणले गति पाउने विश्वास गरिएको छ । रंगशाला निर्माणको सम्झौतापछि महानगर प्रमुख दाहालले समयमै निर्माणको काम सक्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ । निर्माण पक्षले समेत निर्धारित समयमै काम सम्पन्न गर्ने विश्वास व्यक्त गरेको छ ।

सम्झौता पत्रमा २०८३ पुस २२ गतेभित्रमा निर्माण सक्ने उल्लेख छ । रंगशाला निर्माणको लागत भ्याट र पीएससहित ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ निर्धारण गरिएको छ । रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३÷३ तलाको टावर बनाइने छ । एउटामा भीआईपी कक्षा र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् ।

धुर्मुस–सुन्तली फाण्डेशनले निर्माण रोक्नुअघि नै ५ हजार क्षमताको प्याराफिट निर्माण भइसकेको भएपनि अहिले गौचरणमा परिणत भएको छ । रंगशाला निर्माणको महाअभियान पुरा गर्नबाट चुक्नुभएका सिताराम कट्टेल धुर्मुसले विगतको उधारो लगानी बारे समेत महानगर र सरकारले दायित्व लिनुपर्ने बताउँदै आउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ