राष्ट्रियतामाथि शंका नगर्न बालेनको आग्रह
काठमाडौँ / प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आफूले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिका सम्बन्धमा थप स्पष्टीकरण दिनुभएको छ।
चितवनमा आइतबार आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संसद्मा गरेको भनाइको अर्थ ब्रिटिसलाई मध्यस्थ बनाउन खोजिएको नभएको बताउनुभयो।
‘हामीसँग कालापानी–लिपुलेकको प्रमाण छ। ब्रिटिस शासनकालका प्रमाण आवश्यक परे ल्याउन तयार छौं भनेका हौं, ब्रिटिसलाई मध्यस्थ बनाउन खोजेका होइनौं,’ उहाँले बताउनुभयो।
संसद्मा नेपाल–भारत सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको अभिव्यक्ति दिएपछि तेस्रो देशको संलग्नता किन आवश्यक परेको भन्ने प्रश्न उठेको थियो।
प्रधानमन्त्री शाहले छिमेकी मुलुकहरूसँग प्रमाणका आधारमा संवाद गरेर सीमा समस्या समाधान गरिने बताउनुभयो। ‘हामी हाम्रा छिमेकीहरूसँग आफैं कुरा गरेर मिलाउँछौं। हामीसँग पर्याप्त प्रमाण छन्,’ उहाँले बताउनुभयो।
आफ्नो राष्ट्रियतामाथि शंका नगर्न समेत आग्रह गर्दै उहाँले आफ्नो भनाइलाई अन्यथा नबुझ्न अनुरोध गर्नुभयो।
ट्याग : #Balen
















तपाईको प्रतिक्रिया