Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा बाढीको बितण्डा, ३ दर्जन नेपालीको बास खोसियो

अष्ट्रेलियामा बाढीको बितण्डा, ३ दर्जन नेपालीको बास खोसियो

तीनघण्टा छानामा बसेर ज्यान जोगाए


सिड्नी, लगातारको झरीले अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा बाढीको प्रकोप बढाएको छ । सिड्नीबाट झण्डै ७ सय ३४ किलोमिटर उत्तर पश्चिममा पर्ने लिजमोर क्षेत्रमा बाढीका कारण झण्डै ३ दर्जन नेपालीको बास उठेको छ । विद्यार्थी र अस्थाई भिषामा रहेका नेपालीहरु भाडामा बस्दै आएको झण्डै १५ भन्दा बढी घर डुबानमा पर्दा उनीहरुको बास खोसिएको हो ।

अहिले उनीहरुले अन्य नेपाली र भारतिय साथीको घरमा आश्रय लिइरहेका छन् । लिजमोरकी अश्मिता गुरुङले आफु समेत गरि १२ जना नेपालीले स्थानिय रोशन खड्काको घरमा आश्रय लिइरहेको बताउनुभयो । त्यस्तै बिक्रम गौतमको घरमा १६, झराना मगरको घरमा ३ र एक स्थानिय भारतियको घरमा ६ जना नेपालीले आश्रय लिइरहेको गुरुङले नेपालट्युबलाई जानकारी दिनुभयो । स्थानिय भारतिय साथीको घरमा आश्रय लिइरहनु भएका शिव श्रेष्ठले अधिकांश विद्यार्थी र अस्थाई भिषावाला भएकाले समस्या झनै थपिएको बताउनुभयो ।
फेब्रअरी २८ तारिख बिहान साढे २ बजेतिर खोलाको बाध नाघेर पानी बस्तीमा पस्न थालेको श्रेष्ठले बताउनुभयो । बस्ती नजिकै रहेको विल्सन रिभरको १२ मिटरभन्दा अग्लो बाध कटेर पानी वस्तीमा पसेपछि बिहान ५ बजेतिर अधिकांश घर डुबेको हो । घरभित्रै पानी पसेपछि महत्वपुर्ण कागजपत्र च्यापेर केही नेपालीहरु घर छोडेर निस्कन सफल भएका थिए भने, अधिकांशले नागरिकता, पासपोर्ट र शैक्षिक प्रमाणपत्र समेत निकाल्न पाएनन् ।

तीनघण्टा छानामा बसेर ज्यान जोगाए

दात दुखेर बिहानपख उठ्दा घरभरी पानी देखेपछि २६ वर्षिय अश्मिता गुरुङले घरमा भएका सबैलाई उठाएर हतार हतार महत्वपुर्ण कागजात जम्मा पारेर घरको छानामा चढेर बसेका बताउनुभयो ।
घरमा रहेका ३ जना छानामा चढ्न सफल भएपनि श्रीमान र अर्को दुइ जना भाई भने चढ्न नसकेर छातिसम्म पानीमा डुबेर घरभित्रै बसेको अश्मिताले नेपालट्युबलाई जानकारी दिनुभयो । आपतकालिन सेवालाई फोन गरेको ३ घण्टा पछि मात्रै आफुहरुको डुंगाबाट उद्धार भएको गुरुङको भनाई छ । आफु छानामा श्रीमान र भाई पानीमा अश्मिताले भन्नुभयो तीन घण्टा त्यसरी बस्दा आज चाहि मरिने भयो भन्ने लागेको थियो ।
हामीलाई प्राप्त भिडियो र तस्बिरहरुमा नेपालीको घर र कोठा पानीले सबै सखाप पारेको देखिन्छ । फर्निचर, ओड्ने ओछ्याउने, कम्प्युटर, ल्यापटप, कार सबै पानीले डुबाएको छ । अहिले स्थानिय काउन्सिलले बाढी पीडितलाई खाने कुरा र केही कपडा राहत दिएको छ । बाढीले घर, गाडी र काम गर्ने ठाउ समेत डुबाएकाले अधिकांश नेपालीले काम समेत गुमाएका छन् । काम गुमाउदा भिषामा नै समस्या पर्ने हो कि भन्ने चिन्ता समेत थपिएको छ । स्पोन्सर भिषामा रहेका शिव सेफका रुपमा काम गर्दै आउनु भएको छ । पिआरका लागि यो भिषावालाले निश्चित समय र आम्दानीको मापदण्ड पुरा गर्नुपर्छ । तर, काम गर्ने रेष्टुरेन्ट नै डुबानमा परेपछि काम कहिले सुरु हुने भन्ने टुंगो छैन । जसले भिषामा नै समस्या पर्ने हो कि भन्ने चिन्ताले शिवलाई सताउन थालेको छ । बाढीमा परेका अधिकांश नेपाली विद्यार्थी र अस्थाई भिषावाला भएकाले समस्या नाजुक भएको छ । शिव र अश्मिताले सबैसंग सहयोगको अपिल गर्नुभएको छ ।

बाढी पीडितका लागि सहयोग उठाउदै एनआरएनए

यसैबिच बाढी पीडितलाई सहयोग गर्न गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले गो फन्ड मि मार्फत राहत संकलन सुरु गरेको छ । एआरएनए प्रकोप कोषबाट १० हजार र गोफण्डमीबाट २० हजार डलर उठाएर न्यु साउथ वेल्स र कुइन्सल्याण्डका बाढी पिडित नेपालीलाई राहत दिने तयारी भएको प्रवक्ता उमेश खड्काले जानकारी दिनुभयो । बाढी पिडितका लागि स्थानिय काउन्सिल र राज्यबाट पाउन सक्ने सहयोगमा कसरी पहुच पु¥याउने तथा उठेको सहयोग कसरी बाडफाड गर्ने भन्ने बारे पनि छलफल भइरहेको प्रवक्त खड्काले जानकारी दिनुभयो । सरकारले बाढी पीडितलाई १ हजार डलर राहत रकम समेत बाड्न थालेको छ । डिजाष्टर रिकभरी पेमेन्ट भनेर एक पटकलाई यो रकम बाड्न थालिएको हो । सरकारको वेवसाइटमा गएर यसबारे थप विवरण पढ्न सक्नुहुन्छ । बाढीबाट कति नेपाली प्रभावित भएको रहेछ भन्ने तथ्यांक संकलन गर्ने काम भइरहेको समेत खड्काले बताउनुुभयो । अष्ट्रेलियामा यसपानी निकै ठुलो बाढी आएकाले यो दुखको घडीमा यसअघि जस्तै एकजुट भएर सहयोग गर्न समेत खड्काले सबैमा आग्रह गर्नुभएको छ । सहयोगका लागि यो लिंकमा जानुहोस्


ट्याग : #flood in australia, #Nepali in Flood
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ