Monday, 13 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसदमा हंगामा,कांग्रेस महामन्त्री गगन र गृहमन्त्री रविको एक अर्कालाई चुनौती !

संसदमा हंगामा,कांग्रेस महामन्त्री गगन र गृहमन्त्री रविको एक अर्कालाई चुनौती !

संघीय संसदको संयुक्त बैठक जेठ १ मा बस्ने


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सहकारी घोटाला प्रकरणमा छानवीन गर्न संसदीय छानबिन समिति माग गरेर निरन्तर अवरोध गरेपछि शुक्रबारदेखि सुरु बजेट अधिवेशन प्रभावित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि सत्ता गुमाएर प्रतिपक्षी बेञ्चमा पुगेको कांग्रेसले निरन्तर नाराबाजी गरेपछि जेठ १ गते बेलुका ३ बजे बस्ने गरी सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक स्थगित गर्नुभएको हो ।

सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मागअनुसार बोल्न समय उपलब्ध गराउने कार्यसूची राखेर रोस्ट्रम बोलाएपछि कांग्रेस सांसदहरूले निरन्तर उभिएर,नारावाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । सर्वदलीय बैठक, दलका प्रमुख सचेतक,सचेतकसँगको बैठकबाट सहमतिको प्रयास गर्दा समेत कांग्रेसले अडान नछाडेपछि सभामुख घिमिरे कार्यव्यवस्था परामर्श समिति बैठकबाट कार्यसूची नै तयार नगरी पेलेर बैठक संञ्चालनको प्रक्रियामा अघि बढेपछि कांग्रेस थप आक्रोशित बन्यो । सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बिगतका बैठकदेखी नै सदन अवरोध गरिरहेको छ । तर, सत्तारुढ दल र सरकार समितिको पक्षमा देखिएका छैनन् ।

गृहमन्त्री रविलाई कांग्रेस महामन्त्री गगन र गगनलाई रविको चुनौती

शुक्रबारको प्रतिनिधि सभा बैठकको कार्यसूचीमै प्रवेश गर्न नदिएको कांग्रेसका सांसद एवम् महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीलाई धोएर, पखालेर चोख्याउन नसक्ने भन्दै चुनौती दिनुभएको छ । जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म सदन अघि जान सक्दैन भन्दै आफ्नो धारणा राख्नुभएका थापाले आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन डराएको ? किन आत्तिएको ? भन्दै प्रश्न गर्नुभयो । कहिले प्रधानमन्त्री, कहिले प्रहरी, महान्यायाधिवक्ता कार्यालयसम्मलाइ दुरुपयोग गरेको टिप्पणी गर्दै गगनले गृहमन्त्रीले सहकारीको अर्बौँ अपचलन गरेको आफूसँग प्रमाण रहेको दाबी गर्नुभयो ।

यता, रोष्ट्रमा उभिएर बोल्न कांग्रेसले छेकेपछि प्रतिनिधि सभा बैठकबाट बाहिरिदै गर्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाए राजनीति नै छाड्ने चुनौती दिनुभयो । गृहमन्त्री रविले भन्नुभयो, ‘माननिय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने संसदीय समिति त के कुनै ठूलो कुरा होइन, किर्ते गरेको कुरा होइन, मैले लोन माग्नको लागि निवेदन दिएर ऋण मागेको प्रमाण छ भन्नुभएको छ नि त्यो दिनुभयो भने म राजनीति छोड्दिन्छु दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’

कांग्रेसको अबरोधबाट स्थगित भएको बैठक जेठ १ गते बस्नेछ । जेठ १ गते बेलुका ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेगरी संघीय संसदको संयुक्त डाकिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ