Monday, 13 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनौ महिनामा झन्डै ११ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, विद्यार्थीसँगै बाहिरियो १ खर्ब !

नौ महिनामा झन्डै ११ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, विद्यार्थीसँगै बाहिरियो १ खर्ब !


काठमाडौं । चालु आर्थिक वर्ष २०८०\०८१ को नौ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको १० महिनाको तुलनामा १९ दशमलव आठ प्रतिशतले धेरै हो ।

घट्दै विदेश जानेहरु
रेमिट्यान्स बढे पनि विदेश जाने नेपालीको संख्या भने घट्दो देखिएको छ । पछिल्लो १० महिनामा पाँच लाख ४२ हजार एक सय ४९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएका छन् । गत वर्षको १० महिनामा ६ लाख पाँच हजार आठ सय जनाले श्रम स्वीकृति लिएका थिए । पछिल्लो १० महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या ६३ हजार जनाले घटेको छ ।

चालु आर्थिक वर्ष २०८०र०८१ को १० महिनामा खुद सेवा आय ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म सेवा खाताअन्तर्गत १० महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ४० प्रतिशतले बढेर ६० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

विद्यार्थीसँगै विदेशीदैछ नेपालबाट खबौँ पैसा
विदेशीले नेपालमा ६० अर्ब ४५ करोड रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा गर्ने खर्च झन्डै डेढ खर्ब रुपैयाँ पुगेको छ । १० महिनामा नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय साढे ४२ प्रतिशतले बढेको छ । शिक्षाकै लागि अर्थात पढ्न जाने विद्यार्थीसँगै नेपालबाट पछिल्लो १० महिनामा ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चैत मसान्तसम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ