Saturday, 13 July 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै खोजे कांग्रेस–एमालेको नैतिकता !

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै खोजे कांग्रेस–एमालेको नैतिकता !


काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले पाँचौं पटक विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस–एमालेको नैतिकता अनेकन प्रश्न उठाउँदै विश्वासको मत माग्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दैगर्दा सुशासन, जनप्रशासन र आर्थिक सुधारमा ठूलो फड्को मार्ने काम भएको बताउनुभएको छ । उहाँले कांग्रेस–एमालेलाई डरले कुनै अमुक शक्तिले मिलाएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर कांग्रेस र एमाले ०४७ कै वरिपरि फर्किन खोजेको आरोप लगाउनुभएको छ । ‘संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला’ चेतावनीको भाषामा भन्नुभयो, ‘राष्ट्रियसभामा सबभन्दा ठूलो दल माओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले आफैं मिलेको नभई कसैले मिलाइदिएको दाबी समेत गर्नुभयो ।

हिजोसम्म कानुनमाथि नै शासन गरेका समूहहरु आफ्नो सरकारसँग डराएर सरकार नै फेर्न लागेको आरोप लगाउदै उहाँले भन्नुभयो ‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्ता थालियो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको विस्तृत अनुसन्धान सुरु भयो, अर्को ठूलै समूह डरायो, बाँसबारीदेखि बालमन्दिरको जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिन थाल्यो ।, ‘त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो ।’ माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले देशको शासन फेरि माफियाहरुकै अधिनमा जाने खतरा रहेको औल्याउदै जनताले आफ्नो शक्ति देखाउने समय आएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमाले नेताहरुलाई प्रश्न गर्दै नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा आवश्यक नहुने टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डको विपक्षमा उभिने जानकारि गराउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमाले सचिव योगेश भट्टराईले एमाले–कांग्रेस मिल्दा प्रतिगमन नहुने, आवश्यकता अनुसार सर्वसहमति खोजेर संविधान संशोधनको पहल हुने बताउनुभयो । कांग्रेस नेता लेखकले त प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले प्रतिपक्ष कमजोर नहुने टिप्पणी गर्दै जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर गल्ती ग¥यौं कि भन्दै व्यंग्य गर्नुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ