पानी परेपछि मुख्य राजमार्गहरू अनिश्चितकालका लागि बन्द

देशभर पानी परेपछि मुख्य राजमार्गहरू अनिश्चितकालका लागि बन्द गरिएको छ।
काभ्रेको बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। रोशी गाउँपालिका-७ को चारसयबेँसी र रोशी-८ को गिम्दीमा पहिरो खसेपछि दुवैतर्फको सडक बन्द भएको छ। बिहान साढे ४ बजेतिर पहिरो खसेको हो।
धादिङको पृथ्वी राजमार्ग पनि कृष्णभीरमा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। कृष्णभीरसँगै टिङराङखानी क्षेत्रमा पनि ठूलो ढुंगासहितको पहिरो खसेको प्रहरीले जनाएको छ।
यस्तै, चितवनको इच्छाकामना-४ धारापानीमा पृथ्वी राजमार्ग भासिएको छ। यहाँ साना सवारी र मोटरसाइकल चल्न सक्ने भए पनि ठूला सवारी पास हुन नसक्ने अवस्था छ।
नारायणगढ-मुग्लिन सडकखण्डमा भने राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी पूर्ण रूपमा रोकिएको छ। लगातार वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि चितवन प्रशासनले रातिको आवागमन बन्द गरेको हो।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पामा १२५ दशमलव ६ मिलिमिटर मापन भएको छ। त्यसपछि काभ्रेमा १२० दशमलव ३ मिलिमिटर वर्षा भएको छ।
अहिले कोशी, बागमती र गण्डकीका धेरै स्थानमा तथा लुम्बिनी र मधेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ। आज लुम्बिनी र गण्डकीका एक-दुई स्थानमा अत्यधिक भारी वर्षाको समेत सम्भावना छ।
अहिले यात्रा गर्दै हुनुहुन्छ भने सडक खुलेको छ कि छैन मात्र होइन, बाटोमा फेरि पहिरो खसेको छ कि छैन भन्ने पनि हेर्नुपर्ने अवस्था छ।
मौसम पूर्वानुमानअनुसार आज र आज राति पनि भारीदेखि अत्यधिक भारी वर्षाको जोखिम कायमै छ। त्यसैले अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको पछिल्लो अवस्था बुझेर मात्र निस्कन मौसम विभागले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







