Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी ५ खबर पढ्न छुट्यो कि

नेपाल अपडेट : यी ५ खबर पढ्न छुट्यो कि


काठमाडौं । बार र बेञ्चबीचको बिवाद, पर्यटन क्षेत्रमा मन्त्री आलेले थालेको कदम र काम गर्न नसके राजीनामा दिनेभन्दै गरेको उद्घोष, भूमिहिनका बारेमा गम्भिर रहेको मन्त्रीको धारणासँगै बरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई माओवादीले जिम्मेवारी दिएको बारेका ५ खबरहरु यस्ता छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा राजीनामा नदिने मुडमा
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान र कानुनले दिएको दायित्व पूरा गरेर मात्रै आफू सेवाबाट बाहिरिने बताउनुभएको छ । राजीनामा माग्दै बैठकमा पुगेका १४ न्यायाधीशहरूको बीचमा जवराले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउनुभएको हो । प्रधानन्यायाधीश जबराले आफूले सेवाबाट बाहिरिनुपर्ने हो भने प्रश्न उठाइएका अरू न्यायाधीशले पनि राजीनामा दिनुपर्ने अनि आफूले राजीनामा दिने बताउनुभएको थियो । सर्वोच्च अदालतमा सोमवार र मंगलबार पेसी तोकिए पनि बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन टाढा–टाढाबाट आएका सेवाग्राही मर्कामा परेका मात्रै छैनन मुद्धाको चाङ रहेको अदालत राजनीति र गुटबन्दीका कारण बिवादमा फस्न थालेको छ ।

बारले प्रधानन्याधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिएर न्यायालयको गतिरोध अन्त्य गर्नुपर्ने धारणा बनाएको छ । एसोसिएसनको बैठकपछि मंगलबार बारले विज्ञप्ति जारी गर्दै राणाबाट अब न्यायापालिकाको स्वतन्त्रता र विश्वनियता कायम हुन नसक्नेसमेत निष्कर्ष निकालेको हो । बारले राजीनामा नआएर देशव्यापी आन्दोलन गर्नेसमेत चेतावनी दिएको छ । न्यायालय भित्रको अनियमतिता सुधारका लागि बारले पटक पटक सुझाव दिएको दाबी गर्दै प्रधानन्यायाधीश राणाबाट लागू नभएको जानकारी समेत गराएको छ । नेपाल बार एसोसिएशन सल्लाहकार समितिसँगै अधिकांश कानुनव्यवसायीहरु प्रधानन्यायाधीश जबराको बहिर्गमनको पक्षममा रहेको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिनुभयो ।

सुकुम्बासीको समस्या समाधान गर्न सरकार गम्भिर छ : मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुकुम्बासीको समस्या समाधान गर्न भन्दै यसअघि बनेका आयोगले गरेका कामलाई समेत मूल्याङ्कन गरिने जानकारी दिनुभएको छ । सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी परिवर्तन हुँदा व्यहोर्नुपर्ने समस्या निराकरण गरेर अघि बढ्न सकेमा मात्रै सुकुम्बासीको समस्या समाधान हुने मन्त्री श्रेष्ठले बताउनुभएको हो । सुकुम्बासीहरूको समस्या समाधान नहुँदा कतिपय नागरिकहरू अनागरिक बन्नु परेको भन्दै उहाँले अहिले बनेको भू उपभोग नीति लागू गर्न सकेमा मात्रै समस्या समाधान हुने बताउनुभयो ।

नीजि एअरलाइन्सलाई रातारात करोडपति बनाउने खेल स्विकार्य हुँदैन : मन्त्री आले
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एअरलाइन्सको जहाजलाई घाममा सुकाएर प्राइभेट एअरलाइन्सलाई रातारात करोडपति बनाउने खेलमा आफू संलग्न नहुने बताउनुभएको छ । नेपाल एअरलाइन्सको ग्राउन्ड ल्यान्डिङ कुनै निजी कम्पनीको स्वार्थका लागि दिने काम नगर्ने दाबी समेत मन्त्री आलेले गर्नुभयो । आफू आएको २४ घण्टा नबित्दै नेपाल एअरलाइन्सको एक सय चार दिनदेखि लगाइएको तालाबन्दी खुलाएँको दाबी गर्नुभएका मन्त्री आलेले छिट्टै निगमको बैठक बसेर थन्किएर बसेका दुई वटा जहाज पनि सञ्चालनमा ल्याउने बताउनुभयो । पर्यटन क्षेत्रका समस्या समाधान र सुधारका काम गर्न नसकेमा मन्त्रीबाटै बाहिरिने आलेको घोषणा थियो ।

माओवादी केन्द्रले दियो रमण श्रेष्ठलाई जिम्मेवारी
नेकपा माओवादी केन्द्रले रमण श्रेष्ठलाई पार्टी निकट कानुन व्यवसायीहरूको संगठनको संयोजक बनाएको छ । माओवादीले श्रेष्ठलाई पार्टी निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको संयोजक चयन गरेको हो । पार्टीको बैठकबाट पूर्वमहान्यायाधीवक्ता समेत रहेका श्रेष्ठलाई सो जिम्मेवारी दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारि दिनुभयो । अध्यक्ष प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री बन्दा श्रेष्ठ महान्यायाधिवक्ता बनाइएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ