Thursday, 21 November 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआगामी मे महिनामा एनआरएनएको एकता महाधिवेशन गर्ने निर्णय

आगामी मे महिनामा एनआरएनएको एकता महाधिवेशन गर्ने निर्णय

बद्री केसी र पूर्वअध्यक्ष भट्टको असहयोग !


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अन्त्य गर्दै आगामी मे अर्थात जेठ महिनामा एकताको महाधिवेशन गर्ने निर्णय भएको छ । विवाद मिलाउन सर्वोच्च अदालतको आदेशअनुसार गठन भएको उच्चस्तरीय समितिको मंगलबार बसेको पहिलो बैठकले आगामी मे अर्थात जेठ महिनाभित्र एकताको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

समितिका सदस्य विनोद कुँवरले सर्वोच्चको फैसलाअनुसार ६ महिनाभित्र एकताको महाधिवेशन गर्ने प्रतिबद्धतासहित जेठभित्र एकताको महाधिवेशन गर्ने निर्णय भएको जानकारि दिनुभयो । एकता महाधिवेशन सहजीकरणका लागि प्रतिनिधि पठाउन परराष्ट्र र कानुन मन्त्रालयलाई पत्र लेख्ने, महाधिवेशन गर्नका लागि कार्य विधि बनाउन सहजीकरणका लागि समेत परराष्ट्रलाई अर्को पत्र लेख्ने निर्णय समेत बैठकले गरेको छ । बैठकमा पूर्व अध्यक्ष शेष घले नेतृत्वको समितिका १३ मध्ये २ जना सदस्य अनुपस्थित रहेका थिए । आफूलाई आधिकारिक दाबी गर्दै घले नेतृत्वको समितिलाई अस्वीकार गरेर बद्री केसी र पूर्वअध्यक्ष भवन भट्ट भने बैठकमा उपस्थित हुनुभएको थिएन ।

घले, विनोद कुँवर, उपेन्द्र महतो, रविना थापा र जानकी गुरुङ भौतिक रूपमा बैठकमा सहभागि हुँदा जीवा लामिछानेसहितका ६ जना भर्चुअल माध्यमबाट बैठकमा सहभागी हुनुभएको छ । बैठकमा सहभागि सबै एकताको विकल्प नभएको भन्दै सबैलाई मिलाएर अघि बढ्नुपर्नेमा एकमत देखिनुभएको थियो । बद्री केसीले एकताका लागि राखिएको बैठकलाई असहयोग गरेर एनआरएनए कार्यालय बन्द गरेकोप्रति सबैले असन्तुष्टि पोख्नुभएको बताइएको छ ।

एनआरएनएमा हाल विनोद कुँवर, बद्री केसी र आरके शर्मा गरी तीन वटा समूह सक्रिय छन् । तीनवटै समूहलाई मिलाएर एकताको महाधिवेशन गराउनुपर्ने दायित्व घलेमाथि रहेपनि बद्री केसी समूहले सर्वोच्चको अर्को फैसलाले ११ औँ महाधिवेशनबाट निर्वाचित आफूहरुले आधिकारिकता पाएको दाबी गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ