कोरोनाका कारण जागिर गुमाएका विदेशी विद्यार्थीलाई भिक्टोरिया सरकारले नयाँ काम खोजिदिने ।
मेलवर्न
कोरानाका कारण अष्ट्रेलियामा थुप्रै मानिसले जागिर गुमाएका छन् । नागरिक र पिआरवालाका लागि सरकारले विभिन्न राहत प्याकेजको घोषणा गरेपनि विभिन्न भिषा र अन्तराष्ट्रिय विद्यार्थी यसबाट बञ्चित छन् । अष्ट्रेलियामा काम गर्दै पढिरहेका विदेशी विद्यार्थीको समस्या चुलिदै छ । एकातिर भएको जागिर पनि गुमाउनु परेको छ भने अर्को तर्फ शैक्षिक शुल्क र मंहगो घरभाडाको जोहो गर्न विद्यार्थीहरुलाई हम्मे हम्मे पर्न थालेको छ । यो अवस्था कहिलेसम्म रहने टुंगो नुहदा उनीहरुको चिन्ता थप बढेको छ ।
यस्तै चिन्ताको बिच भिक्टोरिया राज्य सरकारले विदेशी विद्यार्थीको लागि आशाको किरण देखाएको छ । भिक्टोरिया सरकारले विभिन्न भिषामा रहेका र काम गर्ने अधिकार भएका विदेशी नागरिकले पनि अष्ट्रेलियन नागरिकलाई सरह कामको व्यवस्था गरिदिने भएपछि विदेशी विद्यार्थीहरु पनि यसबाट लाभान्वित हुने भएका हुन् ।
पछिल्लो पटक अप्रिल १७ तारिखमा भिक्टोरिया सरकारको वेवसाईटमा गरिएको अपटेड अनुसार कोरोनाका कारण जागिर गुमाएका विदेशी विद्यार्थी लगायत अन्य भिषामा रहेकाले पनि सरकारको पुर्नरोजगार कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरेको हो ।
वर्किङ फर भिक्टोरिया नामक प्याकेजमा कोरोनाका कारण जागिर गुमाएकाहरुका लागि विभिन्न क्षेत्रमा पुन काम गर्ने व्यवस्था गर्न लागिएको हो । यो प्याकेज १.७ मिलियन डलरको इकोनोमिक सर्भाइवल प्याकेजकै एक हिस्सा हो । वर्किङ फर भिक्टोरिया प्याकेजका लागि राज्य सरकारले ५ सय मिलियन डलर बजेट छुट्याएको छ । यो प्याकेजमा सहभागि हुनका लागि मापदण्ड पुगेका आवेदकले आफ्नो विवरणसहित अनलाईन फारम भर्नुपर्छ । फारम चाहि वर्किङ फर भिक्टोरियाको वेवसाईटमा उपलब्ध छ ।
मापदण्ड पुगेका आवेदकले नयाँ कामका लागि आवश्यक तालिम र प्रशिक्षणका लागि समेत अवसर पाउनेछन् । भिक्टोरियन सरकारले साइड किकर नामक जागिर खोज्ने अनलाइन कम्पनीसंग सहकार्य गरेको छ ।

यो प्याकेजले नेपाली विद्यार्थीहरुले पनि लाभ लिन सक्ने मेलवर्नका नेपालीमूलका कानुन व्यवसायी टोनु घोतानेले बताउनुभयो ।
‘यो प्याकेजबाट सिधै पैसा पाइने होइन’- घोतानेले भने -‘जागिर गुमाएका र काम गर्ने अधिकार भएकाहरुले आफ्नो सिप अनुसारको जागिर खोज्न सरकारले पहल गरिदिने हो । जागिर पाउने नपाउने चाहि व्यक्तिको क्षमतामा पनि भर पर्छ ।’
तर, केही नहुनुभन्दा त यो प्याकेजले भिक्टोरियामा पढिरहेका नेपालीमाझ केही आशाको ज्योति बालिदिएको छ ।
अष्ट्रेलियाको संघिय सरकारले विदेशी विद्यार्थीका लागि खासै राहत प्याकेज घोषणा नगरेपनि राज्य सरकारहरु भने यसमा उदार देखिन थालेका छन् । कुइन्सल्याण्ड सरकारले त यसअघि नै विदेशी विद्यार्थीका लागि सरकारले राहत प्याकेज ल्याउनुपर्ने जिकिर गरिसकेको छ । अन्य राज्यहरुले पनि विदेशी विद्यार्थीका लागि कस्तो प्याकेज ल्याउछन् हेर्न बाकी छ ।
तपाईको प्रतिक्रिया