अष्ट्रेलियाको संसदमा नेपालीको तारिफै तारिफ
![](https://www.nepaltube.com.au/wp-content/uploads/2020/11/1.jpg)
सरल गुरुङ/सिड्नी
अष्ट्रेलियाको व्यवस्थापिका संसद बैठकमा नेपालीहरुको काम र समाजसेवाको प्रशंसा भएको छ । न्यु साउथ वेल्स राज्यको लेजिस्लेटिभ एसेम्बली अर्थात व्यवस्थापिका संसदको दुइ छुट्टा छुट्टै बैठकमा सांसदहरुले नेपाली तथा नेपालीहरुको साझा संगठन गैरआवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको काम कारवार्ही बारे प्रंशसा गर्नुभएको हो ।
सन् २०२० अक्टोबर २२ तारिखमा बसेको संसद बैठकमा सिड्नीको होल्सओर्थी निर्वाचन क्षेत्रकी सांसद मेलानी गिब्बोन्सले अष्ट्रेलियामा नेपाली भाषा संस्कृति र परिकारको प्रवर्दन गर्न गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको हो । न्यु साउथ वेल्स राज्यको व्यवस्थापिका संसदको आधिकारिक वेवसाईटमा सुरक्षित रहेको विवरण अनुसार सांसद गिब्बोन्सले यस्तो कार्यले नेपाली पृष्ठभूमिका अष्ट्रेलियन एकजुट गरि मजबुज समुदाय निमार्णमा सहयोग पुग्ने बताउनुभएको हो । सांसद गिब्बोन्सले आफ्नै निर्वाचन क्षेत्रका स्थानिय बासिन्दा तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्स राज्य संयोजक देव गुरुङले नेपाली समाजको उत्थानका लागि पु¥याएको योगदानको समेत मुक्त कण्ठले प्रशंसा गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा मात्रै २ सय ८० तथा लिभरपुल क्षेत्रमा झण्डै ६ सय नेपालीमुलका अष्ट्रेलियन बसोबास गर्ने आकडा पेश गर्दै सांसद गिब्बोन्सले एनआरएनएले भविष्यमा अष्ट्रेलियाभरका नेपालीमूलका अष्ट्रेलियनका पक्षमा काम गर्दै जाने आफ्नो चाहाना रहेको बताउनुभयो ।
न्यु साउथ वेल्सकी सांसद मेलानीले आफ्नो नाम नै उल्लेख गरेर संसद बैठकमा नेपालीहरुको प्रशंसा गरेको खबरले आफु अत्यन्तै खुसी रहेको उपाध्यक्ष देब गुरुङले बताउनुभयो । नेपालट्युबसंग कुरा गर्दै गुरुङले यो समस्त नेपालीले गर्व गर्ने क्षण हो भन्नुभयो ।यसमा आफु मात्रै नभई समग्र एनआरएन अभियन्ता तथा न्यु साउथ वेल्स समितिका सबै सदस्यहरुको योगदान रहेको गुरुङको भनाई छ ।
![](https://nepaltube.com.au/wp-content/uploads/2020/11/sabbbb.png)
त्यस्तै सन् २०२० सेप्टेम्बर २३ तारिखको संसद बैठकमा पनि नेपालीले गरेको कामको तारिफ भएको छ । सिड्नीको ग्रानभिल निर्वाचन क्षेत्रकी सांसद जुलिया फिनले कोरोनाले उत्पन्न विषम परिस्थितीमा नेपालीहरुले आफ्ना समुदायका मानिसलाई गरेको सहयोगको प्रशंसा गर्नुभएको हो । बैठकमा सांसद फिनले कोरोनाका बेलामा उत्पन्न मानसिक तनाव कम गर्नका लागि अष्ट्रेलिया नेपाल पब्लिक लिंक एनपिएल र एनआरएनए अष्ट्रेलियाले गरेको मानसिक स्वास्थ्य शिविरबारे प्रशंसा गर्नुभएको हो । यी दुइ संस्था मिलेर सिड्नीमा गत सेप्टेम्बरमा मानसिक स्वास्थ्यबारे शिविर संचालन गरेको थियो । न्यु साउथ वेल्सको संसदको वेवसाईटमा उल्लेख विवरण अनुसार सांसद फिनले यस्तो विषय परिस्थितीमा पनि गरिएको यस्तो शिविर निकै अर्थपूर्ण रहेको तथा यस्तो कार्यक्रमले आफ्नो समुदायका मानिसलाई एकअर्काप्रति ख्याल राख्न प्रेरित गर्ने बताउनुभएको छ । एएनपिएल र एनआरएनएले गरेको कामको प्रशंसा गर्दै सांसद फिनले भन्नुभएको छ यो विषय परिस्थितीमा आफ्नो परिवार र साथीभाईको सहयोगमा जुटेकोमा धेरै धन्यवाद ।
![](https://nepaltube.com.au/wp-content/uploads/2020/11/samsad.png)
राजनीतिक दलको नजरमा नेपाली
सन् २०१८ मा सिड्नीको ब्याङ्स निर्वाचन क्षेत्रबाट लिभरल पार्टीका उमेद्वार डेभिड कोलम्यान निर्वाचित हुनुभयो । हाल डेभिड संघिय सरकारको अध्यागमन, नागरिकतथा र बहुसांस्कृति मन्त्री हुनुहुन्छ । नेपालीको बाक्लो बसोबास रहेको हर्जभिल, पेनहर्स्ट यहि निर्वाचन क्षेत्रमा पर्ने भएकाले डेभिड कोलम्यानको आँखा नेपालीमूलका मतदातातर्फ पनि पर्यो। जानकारहरुका अनुसार एक प्रतिशत स्विङ भोट आफ्नो पक्षमा पार्न डेभिडले नेपालीसंग हिमचिम बढाउन थाल्नुभएको थियो । चुनाव जितेमा सामुदायिक भवनका लागि रकम दिलाइदिने बाचा गरेपछि नेपालीको भोट डेभिडतिर सोझियो । नभन्दै चुनाव जितेपछि सन् २०१८ को सिड्नीको नेपाल फेष्टिभलमा मुख्य अतिथिका रुपमा सहभागी डेभिडले मञ्चबाटै नेपाली समुदायलाई १० लाख डलर अनुदान दिने घोषणा गर्नुभयो । उक्त अनुदान आउने क्रममा छ ।
नेपालीको संख्या बढेसंगै अष्ट्रेलियामा नेपालीहरुको राजनीतिक पहुच पनि बढ्ने क्रममा छ । सन् २०१८ कै संघिय चुनावमा लिवरल पार्टीले ब्याङस् निर्वाचन क्षेत्रसंगै जोडिएको बार्टनमा नेपाली युवा पिजे श्रेष्ठलाई टिकट दियो । पिजेले लेभरकी निकै पुराना तथा आदिवासी समुदायकी पहिलो सांसद लिण्डा बर्नीसंग चुनाव हार्नुभयो । चुनाव हारेपनि यो घटनाले नेपालीहरुको पनि अष्ट्रेलियामा राजनीतिक पहुच बढ्न थालेको छ भन्ने कुरा स्थापित गरायो । त्यस्तै सन् २०२० मा कुइन्सल्याण्डको स्थानिय निर्वाचतमा टोओम्बा क्षेत्रमा नेपालीमुलका इराज अधिकारी काउन्सिल सदस्यमा निर्वाचन लड्नु भयो । चुनाव हारेपनि त्यस क्षेत्रमा इराजको उमेद्वारीले नेपालीहरुको प्रभाव बारे बहस चल्न थालेको छ ।
त्यसो त नेपालीको दशै, तिहार तथा अन्य महत्वपुर्ण चाडपर्वमा अष्ट्रेलियाका प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुले सार्वजनिक रुपमै शुभकामना दिने क्रम पनि बढेको छ । अष्ट्रेलिया आएर पनि नेपालकै राजनीतिक दलका भातृ संगठन खोलेर ताइन तुइको राजनीति गर्ने चलन विस्तारै कम हुदै यहीकै राजनीतिक पार्टीमा सक्रिय हुने नेपालीको संख्या पनि बढ्न थालेको छ । यसले पनि यहाँका ठुला पार्टीले नेपालीहरुलाई हेर्ने नजर फेरिदै छ ।
सन् १९८० को दशकमा अष्ट्रेलिया आउनु भएका वैज्ञानिक नारायण प्रधान पनि यहाँका पार्टीले नेपालीलाई दिन थालेको भाउ देखेर छक्क पर्नुहुन्छ । ‘सन् ८० को दशकमा नेपालीहरु निकै कम थिए, अहिले हाम्रो संख्या ह्वातै बढेको छ’-प्रधानले भन्नुभयो-‘संख्या बढेसंग भोट पनि बढेकाले यहाँका पार्टीहरुले नेपालीहरुलाई महत्व दिन थालेको छ ।’देव गुरुङको टिमले कोरोनाका समयमा घर घरै पुगेको राहत बाडेको स्मरण गर्दै प्रधानले एनआरएनएको छवी उकास्न यस्तो कार्य जरुरी रहेको बताउनुभयो ।
त्यस्तै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कडेलले लामो समयदेखि समुदायमा राम्रो काम गर्दै आएपनि पहुच नहुदा सरकारसम्म आफ्नो कुरा पु¥याउन नसकिएको बताउनुभयो । अब भने धेरै वर्ष लगाएर एनआरएनएले गरेको मेहनतको फल देखिन थालेको छ – कडेलले भन्नुभयो । अब हामीले नीति बनाएर अष्ट्रेलिया सरकारसंग हाम्रो हितका लागि काम गर्न लबिङ गर्नुपर्छ । संसद बैठकमा संस्थाकै नाम लिएर पहिचान हुन खुसीको कुरा हो भन्दै अध्यक्ष कडेलले यसले थप जिम्वेवारी समेत बढेको बताउनुभयो ।
![](https://nepaltube.com.au/wp-content/uploads/2020/11/127965979_702254773761976_696814463632009475_n.jpg)
त्यस्तै अष्ट्रे्लियाका लागि नेपाली राजदूत महेश दाहालले दुइ राष्ट्रबिच कुटनीतिक सम्बन्ध बलियो हुदै गएकाले पनि यहाँका नेपालीहरुलाई अष्ट्रेलियन सरकारले निकै महत्व दिन थालेको बताउनुभयो । आफुले हालै गरेको न्यु साउथ वेल्स राज्यको भ्रमणका बेला त्यहाँका सरकारका मन्त्री, सांसद तथा न्यायापालिकाका पदाधिकारीहरुबाट न्यानो स्वागत पाएको भन्दै राजदूत दाहालले नेपालीप्रति अष्ट्रेलियाले हेर्न नजर निकै सकारात्मक हुदै गएको बताउनुभयो । आफ्नो भ्रमण अवधीभर न्यु साउथ वेल्स संसद भवन बाहिर नेपाली झण्डा फरफराइएको समेत राजदूत दाहालले बताउनुभयो । यसले नेपाललाई दिएको महत्व झल्किने उहाँको भनाई छ ।
तपाईको प्रतिक्रिया